भूकम्प पीडितलाई राहत बाड्न सहयोग उठाउदै आचार्य समाज
अध्यक्ष बाबुराम भन्छन्– जति सकिन्छ सहयोग गरौँ
वि.सं.२०८० मंसिर ११ सोमवार १८:०४
shares

काठमाडौं, ११ मंसिर । जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई राहत वितरणका लागि भन्दै विभिन्न संघ-संस्थाहरुले सहयोग संकलन गर्ने क्रम अहिले पनि जारी छ । यसै क्रममा आचार्य बन्धु समाज नेपालले पनि जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई राहत वितरण गर्ने भएको छ ।
राहत वितरणका लागि अहिले सहयोग संकलन भइरहेको समाजका केन्द्रीय अध्यक्ष बाबुराम आचार्यले बताए । उनले पीडितहरुलाई सहयोग गर्नका लागि सम्पूर्ण आचार्यहरुसँग आह्वान समेत गरेका छन् ।
भूकम्प पीडितका लागि खाद्यान्न, नगद वा लत्ताकपडा के सकिन्छ सहयोग गर्नका लागि भन्दै केही साता अघि समाजको केन्द्रीय समिति बैठकले अध्यक्ष बाबुरामको संयोजकत्वमा समिति बनाएको थियो । राहत संकलन समितिमा अध्यक्ष संयोजक, सदस्यहरुमा केन्द्रीय सदस्य रामहरी आचार्य, मछिन्द्र आचार्य, एकराज आचार्य, कानून विभागका संयोजक मुक्ति आचार्य, टियूका पूर्व डिन समेत रहेका प्रा.डा. गोविन्द आचार्य, रुपेश आचार्य, मनोज लगायत सदस्य रहेका छन् ।
सहयोग गर्न चाहानेहरुले समाजको हिमालयन बैंकमा रहेको बेंक खातामा रकम जम्मा गर्न सक्ने अध्यक्ष एवं राहत संकलन समितिका संयोजक बाबुरामले जानकारी दिए ।



















