शेयर र घरजग्गा धितोमा लचक बन्यो राष्ट्र बैंक
वि.सं.२०८० मंसिर २२ शुक्रवार ११:२९
shares

काठमाडौं, २२ मंसिर । शेयर र घरजग्गा धितोमा लचक बन्दै नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गरेको छ । चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको समीक्षामार्फत राष्ट्र बैंकले शेयर र घरजग्गा धितो सम्बन्धी विद्यमान व्यवस्थामा केन्द्रीय बैंकले लचकता देखाएको हो ।
केन्द्रीय बैंकले शेयर धितोमा जाने ठूला कर्जाको जोखिमभार घटाएको छ । ५० लाखभन्दा बढी सेयर धितो कर्जाको जोखिमभार १२५ प्रतिशत कायम गरिएको छ । यसअघि यस्तो जोखिमभभार १५० प्रतिशत थियो ।
५० लाख मुनिको शेयर धितो कर्जाको जोखिमभार भने १०० प्रतिशत कायम छ । सेयर धितो कर्जामा जोखिम भार घटाएर सेयर बजारलाई चलायमान बनाउने लक्ष्य मौद्रिक नीतिको समीक्षाले लिएको छ । त्यस्तै ५० लाखभन्दा बढीको घरजग्गा कर्जाको जोखिमभार पनि १२५ प्रतिशतमा झारिएको छ । यसअघि यस्तो कर्जामा १५० प्रतिशत जोखिमभार थियो ।
यसका साथै ५० लाख सम्मको आवास कर्जा लिँदा मासिक किस्ता आम्दानी अनुपात बढाई ६० प्रतिशत कायम गर्ने व्यवस्था पनि गरिएको छ । यसअघि यस्तो अनुपात ५० प्रतिशत मात्रै थियो ।


















