Dhulikhel Eco Banner new

खयरका बोटमा तस्कारका आँखा

7.18K
shares

काठमाडौं, १५ पुस । महोत्तरीको जङ्गलबाट खयर प्रजातिका काठको चोरी तस्करी बढेको छ । यसअघि साखु, युक्लिप्टसका काठ चोरी निकासी हुने गरे पनि पछिल्लो समय दुर्लभ प्रजातिमा पर्ने खयरका रुखमा तस्कर समूहले आँखा गाड्न थालेको पाइएको छ ।

अङ्ग्रेजी नयाँ वर्ष तथा व्रिmसमसको रमाइलोमा सर्वसाधारण व्यस्त रहेको मौका पारी जङ्गली क्षेत्रबाट खयरको तस्करी बढेको हो । सबडिभिजन वन प्रमुख कृष्णकान्त पटेलका अनुसार खयर सागरनाथ वन विकास मातहतको जङ्गलमा मात्र पाइन्छ । वन क्षेत्रको दक्षिणी भेगमा सर्च गर्ने व्रmममा ठुलो मात्रामा यो काठ बरामद भएपछि खयर चोरीको रहस्य खुलेको उहाँले जनाउनुभयो ।

सुराकीले दिएको सूचनाका आधारमा सबडिभिजन प्रमुख पटेलसहित सशस्त्र वन सुरक्षा शाखा माईस्थानका प्रमुख अवतार लामाको संयुक्त कमान्डमा शुव्रmबार अपराह्न खटिगएको गस्तीले गौशाला–८, कुसुमाडीको आँप बगैँचाबाट ३४ थान खयरका काठ तथा पाँच थान साखुका गिन्डा बरामद गरेको थियो । बरामद काठ केही दिनअघि मात्र काटिएको वनकर्मीको अनुमान छ । प्रायः झ्यालढोका तथा फर्निचरमा प्रयोग नगरिने खयरमाथि तस्करले किन आँखा गाडे स्पष्ट हुन सकेको छैन । औषधी र कत्था उत्पादनको कच्चा पदार्थका रूपमा रहेको खयर काठ भारतीय औषधी तथा कत्था उद्योगमा महँगोमा विक्ने भएकाले यसको चोरी तस्करी हुन थालेको अनुमान गरिएको छ । स्रोतका अनुसार सीमावर्ती भारतीय बजारमा यो काठको माग उच्च छ ।

उद्योगीले नगद भुक्तानीसमेत गर्ने हुँदा खयरका बोटमा तस्करका आँखा परेको जनाइएको छ । चारैतिर उखु घारी तथा बिचमा रहेको आँप बगैँचाभित्र खयरलगायतका काठ कसले लुकाएको हो ? अनुसन्धान सुरु गरेको सबडिभिजन वन प्रमुख पटेलले जनाउनुभयो । खयर काठ सागरनाथ वन विकास परियोजना मातहतको जङ्गलबाट चोरी गरिएको वनकर्मीले जनाएका छन् । बरामद काठलाई माईस्थानस्थित सबडिभिजन वन कार्यालय मातहतमा राखी अनुसन्धान सुरु गरिएको पटेलले जनाउनुभयो । यो समाचार आजको गोरखापत्रमा छ ।