नबिल बैंकले ६ महिनामा कमायो ३ अर्ब २० करोड ३० लाख नाफा
वि.सं.२०८० माघ ७ आइतवार ०८:५८
shares

काठमाडौं, ७ माघ । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार चालु आवको ६ महिना अर्थात पुस मसान्त सम्ममा बैंकले ३ अर्ब २० करोड ३० लाख रुपैयाँ खुद नाफा गरेको छ ।
६ महिनाको अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.२४ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १५.७२ प्रतिशत बढेको देखिएको छ। बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८ करोड ७८ लाख रुपैयाँ छ । प्रतिशेयर वितरणयोग्य मुनाफा ७.६२ रुपैयाँ रहेको बैंकले सार्वजनिक गरेको वित्तीय विवारणमा उल्लेख छ ।
बैंकको गत आवको ६ महिनाको अवधि भन्दा यो ६ महिनामा खद नाफामा केही कमी आएको देखिएको छ । बैंकले गत आवको ६ महिनामा ३ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। गत वर्षको तुलनामा बैंकले यो ६ महिनामा ६.२८ प्रतिशत कम नाफा कमाएको छ ।
बैंकको कुल सञ्चालन आम्दानी ६ महिनामा ५.७५ प्रतिशत बढेको छ । सञ्चालन मुनाफा ६.१८ प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा १.४६ प्रतिशतबाट घटेर १.२० प्रतिशतमा सीमित भएको छ। यद्यपि, बैंकको इम्पेरमेन्ट चार्ज भने १ अर्ब ८८ करोडको बढेर १ अर्ब ९७ करोड पुगेको छ।
बैंकको प्रतिशेयर आम्दानी ६ महिनामा १ रुपैयाँ ५९ पैसा घटेर २३ रुपैयाँ ६८ पैसामा झरेको छ। त्यसैगरी, पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात २०.८३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०४ रुपैयाँ ४४ पैसा रहेको छ।
२७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २८ अर्ब २५ करोड ७७ लाख रुपैयाँ सञ्चित छ। ६ महिनाको अवधिमा बैंकले ४ खर्ब २८ अर्ब ८३ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ६२ अर्ब ८७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

















