अघि बढ्यो मुक्तिनाथ केबलकार : पर्वत, बागलुङ र म्याग्दीको पर्यटनलाई असर नगर्ने
वि.सं.२०८० फागुन ४ शुक्रवार १६:२८
shares

पर्वत, ४ फागुन । पर्वतको मोदी गाउँपालिका–१ सेराबेंसीदेखि मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ जोड्ने केबलकार निर्माण प्रक्रिया अघि बढेको छ ।
विश्वकै लामो बहुचर्चित मुक्तिनाथ केबलकारले पर्वत, बागलुङ र म्याग्दीको पर्यटन व्यवसायमा भने असर नगर्ने आयोजनाको दाबी छ ।
मुक्तिनाथ केबलकार प्रालीका अध्यक्ष अरुणकुमार सुवेदीले यो केबलकार निर्माणपछि यस क्षेत्रको पर्यटन व्यवसाय वृद्धि हुने बताए ।
मुक्तिनाथ जाने पर्यटक पर्वत र कास्कीको सिमानास्थित सेराबेंसीबाट चढे पनि कुश्मा, बागलुङ र म्याग्दी क्षेत्रले पनि भरपुर लाभ लिनसक्ने उनको दाबी छ ।
“मुक्तिनाथ जाने पर्यटक पोखराबाट मात्रै आउँदैनन्, कालीगण्डकी करिडोर, मध्यपहाडी लोकमार्ग छदैछ, अर्को बलेवा विमानस्थलमा भैरहवाबाट पर्यटक झर्ने सम्भावना हुन्छ”, उनले भने, “ती पर्यटक कहाँ कुश्मा, बागलुङ र बेनीमा बस्छन् ।”
केबलकार कम्तीमा पनि दैनिक १० हजार जना आवतजावत गर्ने क्षमताको रहेको र त्यसमा मुक्तिनाथको यात्रा गराउने कम्पनीले पर्वतको गुप्तेश्वर तथा अल्पेश्वर गुफा, बागलुङको कालिका मन्दिर, पञ्चकोट, म्याग्दीको गलेश्वर मन्दिरमा प्याकेज बनाएर पुर्याउने व्यवस्था हुने भएका कारण पनि यस क्षेत्रले प्रचुर फाइदा लिनसक्ने सुवेदीको भनाइ छ ।
अध्यक्ष सुवेदीले लगानीको स्रोत सुनिश्चित भइसके पनि सरकारी प्रक्रियाको ढिलाइले निर्माणको काम पछि धकेलिएको बताए ।
२० प्रतिशत स्वदेशी र ८० प्रतिशत भारतको के एण्ड आर इञ्जिनियरिङ लिमिटेडले केबलकार निर्माणका साथै लगानीसमेत गर्नेगरी सुनिश्चित भए पनि नेपालका कानुनी प्रक्रियाले प्रक्रिया पूरा गर्न काम गरिरहेको उनले बताए ।
सुवेदीका अनुसार विश्वकै लामो मुक्तिनाथ केबलकार इञ्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट र लगानी ९इपिसिएफ० मोडलमा केबलकार बनाउन लागिएको हो ।
“इञ्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट र लगानी ९इपिसिएफ० मोडलमा केबलकार बनाउने प्रारम्भिक सम्झौता गरिसकेका छौँ”, उनले भने, “लागत अनुमानको लगानी सुनिश्चित भइसकेको छ ।”
उनले इपिसिएफ मोडेलबाट बन्न लागेको केबलकार नेपालकै पहिलो ठूलो परियोजना भएको जनाउँदै ८० किलोमिटर लामो केबलकार बनाउन रु ५५ अर्ब लागत अनुमान गरिएको बताए ।
समझदारीअनुसार कूल लागतको ८० प्रतिशत अर्थात् रु ४४ अर्ब के एण्ड आर इञ्जिनियरिङ भारतले लगानी गर्नेछ ।
आयोजनाको वातावरणीय मूल्याङ्कन प्रतिवदेन पास हुन र सरकारसँग आयोजना विकास सम्झौता गर्न भने अझै बाँकी रहेको छ ।
चार धाममध्ये दर्शनका लागि मुक्तिनाथ पुग्नैपर्ने धार्मिक मान्यताअनुसार मुक्तिनाथ जाने धार्मिक पर्यटकको उपस्थिति बढ्ने उनको भनाइ छ ।



















