GBIME

पर्यटकीय गन्तव्य बनाउन गौरादह पोखरीको निर्माण

426
shares

झापा ४ वैशाख । गौरादह नगरपालिका १ मा रहेको ऐतिहासिक गौरादह पोखरीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यले सरसफाइसहित निर्माण सुरु भएको छ । यसको निर्माणपछि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बन्ने अपेक्षा गरिएको छ ।

नगरकै पहिचान बोकेको १२ बिघा ५ कठ्ठा क्षेत्रफलमा रहेका ४ वटा प्राकृतिक पोखरीलाई संरक्षण र सम्बद्र्धन गर्दैै पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले निर्माण सुरु गरिएको वडा नं १ का वडाध्यक्ष नगेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

नगरपालिकाले १९ लाख खर्चेर एकै स्थानमा रहेका ४ वटा पोखरी निर्माणको गुरुयोजना तयार गरेको थियो । सोही आधारमा प्रदेश सरकारले विनियोजन गरेको ४ करोड बजेटबाट पहिलो चरणको निर्माण सुरु भएको उनले बताए।

उनका अनुसार ४ वटा पोखरीलाई १३ फिट अग्ला २ वटा पोखरी बनाइनेछ । पहिलो चरणमा पोखरीको सतह मिलाउने पोखरीको वरिपरि ३३ फिट १० मिटर चौडाइको कच्ची बाटो निर्माण र ढुङ्गाको जाली लगाइने उनले बताए। पोखरीलाई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि संविधानसभा सदस्य दीपक कार्कीको संयोजकत्वमा ऐतिहासिक पोखरी संरक्षण एवं पर्यटकीयस्थल निर्माण समिति गठन गरिएको उनले जानकारी दिनुभयो ।

५ वर्षअघि तत्काल निर्माण गर्ने गरी पोखरीको पालिकाले विस्तृत अध्ययन प्रतिवेदन डिपीआर तयार गरेको थियो । विसं २०७५ मा डिपीआर तयार गरेको पोखरीको पहिलोचणको निर्माण प्रदेश सरकारको मूल्य अभिवृद्धि कर भ्याटसहित ३ करोड ६ लाखमा सम्झौता गरी डिजे निर्माण सेवाले काम सुरु गरेको छ ।

पोखरीको निर्माण अब रोकिँदैन अध्यक्ष भण्डारीले भन्नुभयो । हाम्रो नगरकै गौरवको योजनाभित्र यो प्राकृतिक पोखरी पर्छ । यसको निर्माण सम्पन्न गर्न करिब २० करोड लाग्ने अनुमान छ । प्रदेश र सङ्घीय सरकारसँग पहल गरिरहेका छौँ ।

पोखरीलाई मत्स्यपालन र पर्यटकीय केन्द्रको रुपमा एकैपटक लैजाने, परिसरभित्र विश्रामस्थलसहितको फूलबारी निर्माण गर्ने । बोटिङ गर्ने, चिल्ड्रेन पार्क जातीय सङ्ग्रहालयलगायतका संरचना तयारी गर्ने गरी गुरुयोजना तयार गरिएको उनको भनाइ छ । यसअघि पोखरीको जग्गा अतिक्रमण हुनबाट जोगाउन ३ चरणमा घेराबारा गर्ने काम गरिएको थियो ।