GBIME

भूकम्पपीडितलाई रेडक्रसको अस्थायी आवास

534
shares

काठमाण्डौ, ६ वैशाख। नेपाल रेडक्रस सोसाइटीले सुदूरपश्चिमका २ सय ४९ भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गरेको छ ।

गत असोजमा भूकम्पले सुदूरपश्चिमका बझाङ र बाजुरामा बढी क्षति पुर्याएको थियो । भूकम्पपीडितको सहायताका लागि रेडक्रसले अस्थायी आवास, राहत सामग्री र आर्थिक सहायता उपलब्ध गराएको जनाएको छ ।

रेडक्रसले भूकम्पबाट क्षति भएको बाजुरामा १ सय २५ अस्थायी आवास र बझाङका प्रभावितलाई १ सय २४ गरी कूल २ सय ४९ आवास, शौचालय र हात धुने स्टेशन निर्माण गरिएको रेडक्रस सोसाइटी आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक सन्तोष न्यौपानेले जानकारी दिएका छन् ।

“भूकम्पपीडितका लागि बाजुरा र बझाङमा शौचालयसहितको अस्थायी आभास निर्माण गरिएको छ”, उनले भने, “त्यसबाहेक पीडितहरुलाई त्रिपाल, कम्बल, म्याटे«सलगायतका सामग्री पनि उपलब्ध गराइएको छ ।” त्यसैगरी उनले सोही दुई जिल्लाका ६ सय ६० पीडित परिवारलाई १५ हजारका दरले अत्यावश्यक सामग्री खरिदका लागि रकम वितरण गर्ने बताएका छन् ।

“बहुउद्देश्यीय सहायता भन्दै प्रतिपरिवारलाई १५ हजारसमेत वितरण गरिएको छ”, उनले भने, “पीडितहरुले सो रकम आवश्यकताअनुसार खर्च गर्न पाउँछन् ।”

सुदूरपश्चिममा भूकम्पपछि राहत र पुनःनिर्माणका सक्रियता देखाएको नेपाल रेडक्रस सोसाइटीले गत असोजदेखि नै बझाङ र बाजुरामा गएको भूकम्पबाट पीडित नागरिकको सहयोग विभिन्न पालिकामा खटिएको थियो ।

भूकम्पले बझाङमा जयपृथ्वी नगरपालिका, तल्कोट, मष्टा र साइपाल गाउँपालिकामा बढी क्षति पु¥याएको थियो भने बाजुरामा खप्तडछेडेदह गाउँपालिका, त्रिवेणी नरगपालिका र बढिगङ्गा नगरपालिकामा क्षति पुर्याएको थियो ।

रेडक्रसका अनुसार भूकम्पबाट बझाङमा कूल ९ हजार ८ सय ७६ परिवार प्रभावित छन् । सोमध्ये २ हजार ५ सय २२ परिवारको घरबास पूर्णरुपमा क्षतिग्रस्त भएका थिए । यहाँ ७ हजार ३ सय ५४ घरमा आंशिक क्षति पुगेको रेडक्रसको तथ्याङ्कमा छ ।

त्यसैगरी बाजुरामा भूकम्पले ६ हजार १ सय ७८ परिवार प्रभावित भएका थिए । बाजुरामा १ हजार ४ सय ४१ परिवार पूर्णरुपले प्रभावित बनेको रेडक्रसले जनाएको छ ।

रेडक्रसले आवाससहितको सुविधाका साथै पीडितहरुलाई ३ हजार परिवारका लागि त्रिपाल, कम्बल, म्याट्रेस वितरण, एक जनालाई स्वास्थ्य तथा मनोसामाजिक सहयोग र करिब ४ सय ५० जनालाई लैङ्गिक समावेशीकरणसम्बन्धी अभिमुखीकरण सम्पन्न गरेको जनाएको छ ।

रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेश कार्यालयका वरिष्ठ सहायक धनबहादुर जप्रेलले अघिल्लो वर्ष डोटी र बझाङमा भूकम्प प्रभावित क्षेत्रमा आवास निर्माण गरिएको जानकारी दिएका छन्।