GBIME

रारा ताल क्षेत्रमा अस्ट्रेलियाली लगानीमा पहिलो लक्जरी रिसोर्ट बन्ने

774
shares

काठमाडौँ, १८ वैशाख । नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा ताल क्षेत्रमा अस्ट्रेलियाली लगानीमा पहिलो लक्जरी रिसोर्ट बन्ने भएको छ ।

रारामा बन्ने पहिलो लक्जरी रिसोर्टमा अस्ट्रेलियाको एक्सपर्ट ग्रुपले लगानी गर्ने भएको हो । तेस्रो नेपाल लगानी सम्मेलनका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ तथा सचिव दीपक काफ्लेको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतामा एक्सपर्ट ग्रुपको तर्फबाट बद्रि अर्याल र सञ्जीव शर्मा तथा रारा होल्डिङ्स प्रा।लि।का तर्फबाट अभिषेक विक्रम शाहले हस्ताक्षर गरेका छन् ।

समुन्द्र सतहदेखि तीन हजार सात सय मिटर उचाइमा निर्माण हुने रिसोर्टबाट रारा ताल र त्यस क्षेत्रका हिमालहरुको उत्कृष्ट दृश्य देखिने र हेर्न समेत सकिनेछ । मुगुको छायानाथ रारा नगरपालिका, मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने लक्जरी रिसोर्टमा पहिलो चरणमा करिब ७० करोड रुपियाँ लगानी हुने भएको छ ।

रिसोर्ट वातावरणमैत्री र स्थानीय संस्कृति झल्किने नेपाली डिजाइनमा निर्माण गरिने र स्थानीयस्तरमा उपलब्ध स्रोत तथा साधनको अधिकतम प्रयोग हुने गरि बनाउँने बताइएको छ ।