Dhulikhel Eco Banner new

नेपाल इन्स्योरेन्सको सीईओमा महर्जन नियुक्त

5.19K
shares

काठमाडौं, १८ जेठ । नेपाल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा वीरकृष्ण महर्जन नियुक्त भएका छन ।

कम्पनी सञ्चालक समितिको जेठ १७ गते सम्पन्न बैठकले रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा महर्जनलाई नियुक्त गरेको हो ।

कम्पनीका सचिव चन्द्रनाथ उप्रेतिले मंगलबारको बैठकले जेठ १८ गते बुधबार देखि लागू हुने गरी उनलाई आगामी चार वर्षका लागि करार सेवामा सीईओमा नियुक्त गरेको बताए ।

प्रुडेन्सियल इन्स्योरेन्सको सीईओ पदबाट कार्तिक ५ गते बाहिरिएका महर्जन यसअघि २०७८ कार्तिक ८ गते नेपाल इन्स्योरेन्सको बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा वीरकृष्ण नियुक्त भएका थिए । बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएसँगै उनलाई कामु सीईओको जिम्मेवारी समेत दिइएको थियो ।

बीमा संघका पूर्व उपाध्यक्ष समेत रहेका महर्जनले बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर तथा कानून विषयमा स्नातक गरेका छन् । बीमा क्षेत्रमा २४ वर्षभन्दा बढी अनुभव भएका महर्जनले जनवरी १९९७ मा भारत सरकारको पूर्ण स्वामित्वमा रहेको जनरल इन्स्योरेन्स कर्पोरेशन अफ इन्डियाको सहायक कम्पनी नेशनल इन्स्योरेन्स कम्पनीमा आफ्नो करियर शुरु गरेका हुन् ।

उनले मुम्बईको इन्सुरेन्स इन्स्टिच्युट अफ इन्डियाबाट फेलोसिप पूरा गरेका छन् । नेपाल इन्स्योरेन्समा आबद्ध हुनुअघि उनले प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा १४ वर्ष सीईओको रूपमा सेवा गरेका थिए ।