Dhulikhel Eco Banner new

चालु आर्थिक वर्षको सबै योजना वैशाखमै सम्पन्न

3.59K
shares

काठमाडौं, २८ वैशाख । चालु आर्थिक वर्षको अन्त्यतिर मात्र बजेट सकाउन हतारहतारमा योजना सञ्चालन गरी सम्पन्न गर्ने परिपाटी लामो समयदेखि चलिआएको छ । आवको अन्त्यतिर सरकारी योजना सकाउँदै बजेट भुक्तानी गर्ने परिपाटी छ । चितवनको इच्छाकामना गाउँपालिका–४ मा भने चालु आवका लागि सञ्चालित सम्पूर्ण योजनाको निर्माण वैशाख नसकिँदै सम्पन्न भएको छ ।

चालु आव २०८० र ८१ को १० महिना बितिरहँदा उक्त वडामा सञ्चालित सबै योजना सम्पन्न भएका छन् । समयमै सम्झौता गरी सबै योजना सम्पन्न भएको इच्छाकामना गाउँपालिका–४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीले जानकारी दिए । उनका अनुसार वैशाखसम्म आइपुग्दा गाउँपालिका, प्रदेश र सङ्घीय साथै वडाको आफ्नो छुट्टै बजेटद्वारा सञ्चालित सबै योजना निर्माण सम्पन्न भइसकेका छन् ।

चालु आवमा इच्छाकामना गाउँपालिका–४ मा २० योजना सञ्चालित भएकामा १४औँ गाउँसभाबाट चार योजना थप भएका थिए । ती २४ योजनाको बजेट तीन करोड ३५ लाख रहेको वडाध्यक्ष उप्रेतीले जानकारी दिए। यसैगरी इच्छाकामना–४ मा सञ्चालित नयाँबस्ती, बेलडाँडा, लामिडाँडा हुँदै नाग्दीखोलासम्मको सडकको स्तरोन्नति बाहेक बाँकी योजना सम्पन्न भई भुक्तानी भइसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए।

उनले भने, “नयाँबस्ती, बेलडाँडा, लामीडाँडा हँुदै नाग्दीखोलासम्मको सडक बाटो स्तरोन्नति योजनाको ६० प्रतिशत रकम भुक्तानी भइसकेको छ, बाँकी ४० प्रतिशत भुक्तानी केही दिनभित्रै हुन्छ।” गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले इच्छाकामना– ४ मा सबै योजना सम्पन्न भएका र अन्य वडामा सञ्चालित चालु आवका सम्पूर्ण योजना निर्माणको अन्तिम चरणमा रहेका बताए। उनले भने, “चालु आवका सबै योजना निर्माणको अन्तिम चरणमा छन्, निर्माण सम्पन्न हुन बाँकी योजना केही दिनभित्र सक्छौँ ।” आगामी जेठमा आर्थिक वर्ष २०८१ र ८२ का योजना छनोट र बजेट निर्माणमा लाग्ने उनको भनाइ छ ।