बुधबारदेखि काठमाडौंका विभिन्न क्षेत्रमा दैनिक चार घण्टा विद्युत अवरुद्ध हुने
वि.सं.२०८१ मंसिर २६ बुधवार १५:२९
shares

काठमाडौं, २६ मंसिर । नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न क्षेत्रमा बुधबारदेखि पुस ५ गतेसम्म दैनिक चार घण्टा विद्युत् अवरुद्ध हुने जानकारी दिएको छ ।
प्राधिकरणले एक सूचना जारी गर्दै विभिन्न ठाँउमा छुट्टाछुट्टै फिडरहरुमा बिहान ११ देखि दिउँसो ३ बजेसम्म सटडाउन गर्ने भएकाले तीन फिडरअन्तर्गत क्षेत्रहरुमा विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जानकारी दिएको हो ।
विद्युत अवरूद्ध क्षेत्रको पहिलो सूचीअनुसार, बुधबार कीर्तिपुरको रोपवे फिडर सट डाउन गरिनेछ । जसले बल्खु करिडोर क्षेत्रमा विद्युत अवरूद्ध हुनेछ भने बिहीबार मच्छेगाउँ फिडरअन्तर्गतका भत्केपाटीदेखि राराहिल चोक क्षेत्रमा विद्युत् अवरूद्ध हुनेछ ।
त्यस्तै शुक्रबार रोपवे फिडरको कीर्तिपुर रिङरोड क्षेत्र र शनिबार बाफल फिडरअन्तर्गतका स्वयम्भू क्षेत्रमा विद्युत् अवरूद्ध हुनेछ ।
पुस १ गते कीर्तिपुरकै रोपवे फिडर अन्तर्गत कीर्तिपुर रिङरोड क्षेत्र र खसीबजार क्षेत्रमा विद्युत अवरुद्ध हुनेछ भने पुस २ गते मच्छेगाउँ फिडर अन्तर्गत राराहिल चोकदेखि ढाल्पा चोकसम्म र पुस ३ गते रोपवे फिडरकै मेत्रीनगर इशानेश्वर मन्दिर क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ ।
त्यसैगरी पुस ४ गते बाफल फिडरअन्तर्गत स्वयम्भू क्षेत्र र पुस ५ गते शङ्खमूलको दोभान पुल क्षेत्रमा विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।




















