Dhulikhel Eco Banner new

बजेट बन्ने बेलासम्म पद रहन्छ कि रहन्न थाहाँ छैन : मन्त्री लामिछाने

विज्ञापन बोर्डबारे मन्त्रीको प्रतिक्रिया– मन्त्रीका मान्छेलाई नियुक्ति दिन बनाइएका संरचना

3.72K
shares

काठमाडौं, १३ पुस । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेले आफूूलाई काम गर्ने चाहाना धेरै भए पनि सरकार ढल्ने ठेगान नभएका कारण काम गर्न समस्या भएको गुनासो गरेका छन् । आइतबार ललितपुरमा बागमती प्रदेश सञ्चार रजिष्टर कार्यालयले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै लामिछानेले यस्तो गुनासो गरेका हुन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका एसोसिएट प्रदेश अध्यक्ष रोयल आचार्य, उपत्यका प्रदेश अध्यक्ष टेनिश रोका, प्रतिष्ठान प्रदेश अध्यक्ष रमेश वाग्ले, बागमती प्रदेश अध्यक्ष कृष्णसारु मगरसतिह विभिन्न जिल्लाका अध्यक्ष तथा पदाधिकारीहरु सहभागी थिए ।

पत्रकारहरुले उठाएका सवालका विषयमा जवाफ दिने क्रममा मन्त्री लामिछानेले अस्थिर सरकार हुँदा कतिपय कामहरु पूरा हुन नसकेको बताएका हुन् । ‘तपाईहरुले उठाएका धेरै कुराहरु बुझे, कतिपय तपाईहरु आफैले गर्नु पर्ने कामहरु छन्, कतिपय सरकारले गर्नुपर्ने काम छन्’ उनले भने, ‘म तपाईहरुको कुरामा सकारात्मक छु, तर बजेट बनाउने बेलासम्म म नै मन्त्री रहन्छु कि रहन्न भन्ने थाहाँ छैन ।’

उनले विज्ञापन बोर्डबारे उठेका प्रश्नबारे पनि प्रतिक्रिया दिए । आफ्ना मान्छेहरुलाई नियुक्ति दिनका लागि बनाइएका कतिपय संरचनाहरुको काम नभएको उनले बताए । जथाभावी संरचना बनाएको र ति संरचनाहरुले बजेट नभएको बहाना बनाएर काम नगर्ने गरेको उनले बताए ।