काठमाडौं र ललितपुरका यी स्थानमा शनिबार दिउँसो बिजुली नहुने
वि.सं.२०८१ पुस २० शनिवार १०:०३
shares

काठमाडौं, २० पुस । काठमाडौं र ललितपुरका केही स्थानहरूमा शनिबार तीन घण्टा लोडसेडिङ हुने भएको छ ।
डिस्ट्रिब्युसन लाइन भूमिगत गर्ने कार्यका लागि पुलचोक डिस्ट्रिब्युसन सेन्टरको यूएन पार्क फिडरलाई बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मका लागि बन्द गर्नुपर्ने भएको हो । सो अवधिमा शंखमुल, यूएन पार्क, शंखमुल टाउन प्लानिङ क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
त्यस्तै, सडकको कल्भर्ट निर्माणका क्रममा परेको एचटी पोल सार्नका लागि जोरपाटी डिस्ट्रिब्युसन सेन्टरको साँखु फिडर बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म बन्द गर्नुपर्ने भएको छ । सो अवधिमा नयाँ पाटी, ब्रम्हखेल, इन्द्रायणी, साँखु, जर्सिङ पौवा र नांगलेभारेमा विद्युत् अवरुद्ध हुनेछ ।
काम निर्धारित समयभन्दा अघि सकिएमा अगाडि नै सेवा सुरु हुने पनि प्राधिकरणको भनाई छ ।

















