Dhulikhel Eco Banner new

विपद् प्रतिकार्यका लागि सशस्त्र प्रहरी तलिमप्राप्त ५३ औं टोली तयार

1.99K
shares

काठमाडौं, ६ माघ । विपद् व्यवस्थापनको कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल नेपालमा विपद् व्यवस्थापन प्रयोजनका लागि तालिमप्राप्त ५३ औं टोली तयार भएको छ । सशस्त्र प्रहरी बल, नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालय, सप्तरीमा विपद् व्यवस्थापन सम्बन्धी तालिमको आईतबार समापन गरिएको हो ।

बरमझियामा अवस्थित शिक्षालयको प्राङ्गणमा सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीको प्रमुख आतिथ्यमा सि.सं. ५३ विपद् व्यवस्थापन तालिमको समापन गरिएको छ । समापन कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा कन्चनरुप नगरपालिकाका प्रमुख ललन प्रसाद गुप्ता र हनुमाननगर नगरपालिकाका प्रमुख विरेन्द्र माझीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रशिक्षार्थीहरुले भुकम्प र आगलागीको समयमा गरिने उद्धारको साथसाथै खोँचमा फसेका व्यक्तिको उद्धार, र्‍याप्लिङ् क्लाईम्बिङ्ग, प्राथमिक उपचार लगायत तालिममा सिकेका विषयहरुसगँ सम्बन्धित कृतिम अभ्यासहरुको प्रदर्शन गरेका थिए । समापन कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालमा उपलब्ध विपद् व्यवस्थापनसँग सम्बन्धित उद्धार सामाग्रीहरुको प्रदर्शनी समेत गरिएको थियो ।

११ हप्ता अवधिको उक्त तालिममा ४८ जना सशस्त्र प्रहरी कर्मचारीहरु सहभागी भएको र प्रशिक्षार्थीहरुलाई प्राथमिक उपचार, भत्किएका संरचानामा खोज तथा उद्धार, शव व्यवस्थापन, फायर फाइटिङ्, रोप रेस्क्यु, हवाई तथा सडक दुर्घटना, जलोत्पन्न प्रकोप उद्धार, विपद् पछिको उद्धार, राहत र पुनर्स्थापना लगायतका विषयहरुमा प्रशिक्षण गराईएको शिक्षालयले जनाएको छ ।

समापन कार्यक्रममा तालिममा उत्कृष्ट हुने सशस्त्र प्रहरी नायव उपरीक्षक सितल श्रेष्ठ पुरस्कृत भएका थिए भने सफल प्रशिक्षार्थीहरुलाई विपद् उद्धारकको परिचय झल्किने कुम चिन्ह प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीले प्रशिक्षार्थीहरुलाई बधाई दिदै सशस्त्र प्रहरी बल, नेपालले विपद् व्यवस्थापनलाई उच्च प्राथमिकतामा राख्दै कार्य सम्पादन गर्दै आएको र प्रकोप र उद्धार भन्ने वित्तिकै सशस्त्र प्रहरी बल, नेपालको नाम जनमनमा बस्दै गएको बताए । धौवजीले तालिममा दिक्षित प्रशिक्षार्थीहरुलाई विपद्को समयमा उत्कृष्ठ ढंगले कार्य सम्पादन गर्न निर्देशन समेत दिए ।

कन्चनरुप नगरपालिकाका प्रमुख ललन प्रसाद गुप्ताले स्थानिय निकायहरुसँग विपद् सम्बन्धी जनचेतना जगाउने, उद्धार तथा पुनर्स्थापनाको कार्यमा सशस्त्र प्रहरी बलले उत्कृष्ठ ढंगले समन्वय गर्दै आएको बताए । हनुमाननगर नगरपालिका प्रमुख बिरेन्द्र माझीले विपद् व्यवस्थापनको क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपालले गर्दै आएको कार्यहरुको प्रशंसा गरे ।

तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक नेत्र बहादुर कार्कीले शिक्षालयमा पहिलो पटक सञ्चालन भएको विपद् व्यवस्थापन तालिमबाट विपद् व्यवस्थापनमा खटिने विशिष्ट जनशक्ति तयार गरिएको र भविष्यमा उनीहरुबाट उत्कृष्ट सेवा प्रवाह हुने बताए । कार्कीले विपद् व्यवस्थापन तालिमकै लागि शिक्षालय प्राङ्गणमा ३० फिट अग्लो र्‍याप्लिङ् क्लाईम्बिङ्ग टावर निर्माण गरिएको जानकारी गराए ।

कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालय, सशस्त्र प्रहरी बल, नेपालका कार्यलयका प्रमुखहरु, स्थानीय निकायका प्रतिनिधिहरु, शिक्षालयमा कार्यरत सशस्त्र प्रहरी कर्मचारी, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिहरु उपस्थिति रहेको थियो ।