चेम्बर एस्पोका ५ स्टल : बिन्दास सोफादेखि डोको–गुन्द्रीसम्म
उज्जल पौडेल/दिक्षा दाहाल
वि.सं.२०८१ माघ १७ बिहीवार १९:०२
shares

काठमाडौं, १६ माघ । भृकुटीमण्डपमा बिहीबारबाट ८औं संस्करणको चेम्बर एक्स्पो २०२५ शुरु भएको छ । एक्सपोमा विभिन्न किसिमका सामाग्रीहरु प्रदर्शनीमा राखिएको छ । चार दिनसम्म चल्ने एक्सपोको बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । उद्घाटनको पहिलो दिन केटिएम भ्वाइसले एक्स्पोको अवलोकन गरेको थियो ।
विभिन्न कम्पनी, औद्यागिक फार्म तथा संस्थाहरुले आफ्नो उत्पादन, वस्तु तथा विभिन्न किसमका सामाग्रीहरु प्रदर्शनीमा राखेका छन् । जस मध्ये हामीलाई राम्रो लागेका ५ वटा स्टलहरुको यहाँ चर्चा गर्दैछौँ ।
१. ‘रिल्याक्सिङ’ सोफा सेट
एक्स्पो भ्रमणका क्रममा हाम्रो नजर ‘रिल्याक्सिङ’ अर्थात आरामदायी सोफा सेटको स्टलमा पर्यो । जहाँ सामान्य बजारमा देखिने भन्दा केही फरक सोफाहरु सजायर राखिएका थिए । आसनका कारण नसा सम्बन्धी रोगहरु लागेको वा नसा सम्बन्धी रोग लागिसकेकाले आसनकै कारण दुःख पाएका घटनाहरु धेरै हुन्छन् । यो सोफा भने अलि फरक रहेछ ।
यस सोझामा बस्दा नसा सम्बन्धी रोगबाट बच्न सकिने कम्पनीको दावी रहेको छ । आरामदायी र सहज रुपमा बस्न सकिने साथै नसा सम्बन्धी रोगको समस्या पनि भोगनु नपर्ने भएकाले बजारमा यो सोफा अत्यन्तै महंगो छ । कम्पनीले केटिएम भ्वाइसलाई दिएको जानकारी अनुसार यस एक सेट सोफाको बजार मूल्य ६ लाख रुपैयाँ रहेको छ । तर, एक्स्पोमै खरिद गर्न चाहनेहरुका लागि भने ५० प्रतिशत छुट अर्थात ३ लाख रुपैयाँमै सोफा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
२. कञ्चनजंगा अगरवत्ती
अनानगरको हनुमानस्थान नजिकै कर्पोरेट कार्यालय राखेर ठूलो मात्रामा अगरवत्ती उत्पादन गरिरहेको कञ्चनजंगा अगरवत्तीले पनि चेम्बर एक्सपोमा स्टकल राखेको छ । कञ्चनजंगाले पनि अन्य अगरवत्ती भन्दा केही नयाँ किसिमको उत्पादन ल्याएको रहेछ ।
कम्पनीको स्टलमा भेटिएका कर्मचारीले बताए अनुसार कञ्चनजंगाले बासको प्रयोग नै नभएको अगरवत्ती ल्याएको रहेछ । यो साधारण अगरवत्ती भन्दा राम्रो रहेको कम्पनीको दावी छ ।
३. हस्तकलाका सामाग्री
एक्सपोमा हामीले विभिन्न किसिमका हस्तकला सामाग्रीहरुको प्रदर्शनी हेर्यौ । प्रदर्शनीमा चावीमा झुड्याउने लकेट, टोकन अफ अभमा प्रयोग गर्न सकिने विभिन्न उपहार जस्ता वस्तुहरु प्रदर्शनीमा राखिएका छन् । हातबाट बनेका आकर्षक वस्तुहरु मनै लोभ्याउने खालमा छन् ।
प्रदर्शनीमा राखिएका हस्तकलाका वस्तुहरु जति आकर्षक छन्, ति सामाग्री बनाउने व्यक्तिका कथा पनि उत्तिकै आकर्षक रहेछन् । कुनै बेला बैंकमा जागिरे रहेका एक व्यक्तिले कोभिडको समयमा बैंकको नागिर छाडेर यस व्यवसायमा लागेका रहेछन् ।
उनले अहिले आफ्ना परिवारका सदस्यलाई समेत व्यवसायमा लगाइर २ जनालाई रोजगारी समेत दिएका रहेछन् । बैंकको जागिर भन्दा हस्तकलाको उद्यमले दिएको खुसीको कथा साच्चिकै प्रेरणादायी रहेको थियो ।
४. जुम्लाको सिमीदेखि थकालीको जिम्बुसम्म
भ्रमणको क्रममा हामी साल्ट ट्रेडिङको स्टलमा पुग्यौँ । साल्ट टेडिङ भन्ने वित्तिकै नुन बेच्ने सरकारी संस्थान भनेर सर्वसधारणले सहजै अनुमान लगाउछन् । भृकुटीमण्डमा भने नुनमात्रै होइन धेरै कुराहरु राखिएका थिए ।
जुम्लाको सिमीदेखि थकाली खानामा चर्चित रहेको दाल झान्ने जिम्बुसमेत थियो । साल्ट ट्रेडिङको स्टमा रहेका कर्मचारीले दावी गरे अनुसार यहाँ पाइने जिम्बु बाहिर बजारमा भने भेट्न मुश्किल पर्छ ।
५. लोभलाग्दो ‘फुड प्रोडक्ट’
हामीले अवलोकन गरेका स्टलहरु मध्ये एउटा ‘फुड प्रोडक्ट’ पनि निकै लोभलाग्दो देखियो । जहाँ मह, घिउँ तथा अर्गानिक फलफुलहरु प्रदर्शनमिा राखिएका थिए । एउटा निजी कम्पनीले हातले बनाएका गुन्द्री, डोको देखि मह, घिउ र अर्गानिक फलफुलरु बिक्री गर्दै आएको रहेको छ । यो महिलाहरुले बनाएका तथा उत्पादन गरेका वस्तुहरु प्रवर्दन गर्ने गरी बनाइएको संस्था रहेछ ।
कम्पनीले दिएको जानकारी अनुसार ‘एक गाउँ, एक उत्पादन’ नारा दिएर यस अभियानलाई देशभर फैलाउने लक्ष्य राखिएको छ । पूर्व झापादेखि पश्चिम कैलालीसम्मका अर्गानिक उत्पादन तथा गाउँघरमा बनेका सामाग्रीहलाई बजारीकरण गर्ने कम्पनीको लक्ष्य रहेको छ ।



















