Dhulikhel Eco Banner new

सुपर फ्लप भएपछि प्रधानमन्त्री रोजगार कार्यक्रमको नाम फेर्दै सरकार

3.77K
shares

काठमाडौं, ६ चैत । प्रधानमन्त्री रोजगार कार्यक्रमको नाम फेर्ने मुडमा सरकार पुगेको छ । प्रधानमन्त्रीको नाम जोडेर बनाइएको कार्यक्रम सुपर फ्लप भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नाम फेर्न भनेका हुन् ।

प्रधानमन्त्रीको आदेश पछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गृहकार्य समेत सुरु गरिसकेको छ । इकोनोमिक मिडिया एसोसिएसन नेपालको प्रतिनिधि मण्डससँग कुरा गर्दै श्रम मन्त्री शरदसिंह भण्डारीले नाम फेर्न लागिएको जानकारी दिए ।

यद्यपि, कार्यक्रमलाई निरन्तरता दिने सरकारी तयारी छ । प्रधानमन्त्रीको नाम जोडिएका बनाएका धेरै कार्यक्रमहरु सफल भएका छैनन् । नाम जोडेर बनाइएका यस्ता कार्यक्रमहरु सफल नहुुँदा प्रधानमन्त्रीकै बद्नाम भएको बुुझाई ओली र उनको सचिवालयको छ ।

श्रममन्त्री भण्डारीका अनुसार हाल प्रधानमन्त्री रोजगार कार्यक्रम रहेकोमा नाम फेरेर अब राष्ट्रिय रोजगार कार्यक्रम बनाउने सरकारी तयारी छ । यसो गर्दा जनताले हेर्ने दृष्टिकोण समेत परिवर्तन हुनसक्ने उनले बताए ।

‘यस्ता कार्यक्रमहरु आउनु राम्रो कुरा हो, तर प्रधानमन्त्रीकै नाम जोड्नुपर्छ भन्ने छैन’ श्रममन्त्री भण्डारी भन्छन्, ‘यसमा प्रधानमन्त्रीज्यू सकारात्मक हुनुुहुन्छ, चाडै नाम फेरिन्छ ।’

श्रममन्त्री भण्डारीका अनुसार सरकारले रोजगारीको व्यवस्था गर्न आफै रोजगार पोर्टलको तयारी समेत गरिरहेको छ । वैदेशिक रोजगारीमा गएर फर्किएका र स्वदेशमै रोजगारीको अवसर खोजिरहेका सबैलाई हुने गरी पोर्टल निर्माणको तयारी गरिरहेको मन्त्री भण्डारीले बताएका छन् ।