Dhulikhel Eco Banner new

विप्रेषण भनेको के हो ? जान्नुहोस् विप्रेषण पठाउँदा र उपयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू

3.24K
shares

काठमाडौं, ९ वैशाख । वित्तीय साक्षरता अन्तर्गत आजको श्रीङ्खलामा विप्रेषणका विषयमा चर्चा गर्ने कोशिस गरेका छौँ । बैंक, वित्तीय संस्था वा अनुमति प्राप्त मनी ट्रान्सफर एजेन्सीहरू मार्फत एक स्थानबाट अर्को स्थानमा रकम ट्रान्सफर गरेर पठाउने कार्य रकमान्तर हो । यो स्वदेश आन्तरिक र विदेश बाह्य दुवै हुन सक्छ । यस्तो रकम औपचारिक माध्यम अर्थात् बैंक तथा वित्तीय संस्था मार्फत् पठाएमा त्यसलाई बैंक ट्रान्सफर भनिन्छ ।

कुनै एक देशका नागरिक अर्को देशमा गई आर्जन गरेको रकम बैंक, वित्तीय संस्था वा अनुमति प्राप्त मनी ट्रान्सफर एजेन्सीहरू मार्फत स्वदेशमा पठाउने कार्य रेमिट्यान्स हो । यसलाई नेपालीमा विप्रेषण भनिन्छ ।

रेमिट्यान्स पठाउँदा केही सेवा शुल्क तिर्नुपर्ने भए पनि बैंक, वित्तीय संस्था वा अनुमति प्राप्त मनी ट्रान्सफर एजेन्सीहरू रेमिट्यान्स कम्पनीबाट रकमान्तर गर्ने तरिका नै सबैभन्दा बढी सुरक्षित, भरपर्दो र औपचारिक तरिका हो ।

विप्रेषण पठाउँदा र उपयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू

विप्रेषण औपचारिक बैंक तथा रेमिट्यान्स कम्पनीहरूबाट मात्र पठाउने ।

विप्रेषण गर्दा शुल्क वापत लिइने पैसाको बारे सोधपुछ गर्ने ।

विप्रेषण पठाएपछि सोको उपयोग उत्पादनशील क्षेत्रमा गर्ने ।

यदि उपभोगमा खर्च गरेमा सो कमाइ उपभोग भइसकेपछि पुनः आम्दानी प्राप्त नहुने हुँदा आम्दानी हुने गरी मात्रै खर्च गर्ने अर्थात् बिहे व्रतबन्ध, जन्मदिवस, पास्नीजस्ता अनुत्पादक कार्यमा सकेसम्म कम खर्च गर्ने ।

विप्रेषणको उचित प्रयोग
विप्रेषणको उचित प्रयोगले हाम्रो जीवन सहज र भविष्य सुनौले बन्न सक्छ । विप्रेषणको धेरै अंश हाम्रो दैनिक खपतमा खर्च हुँदा बचत र भविष्यको सुरक्षाका लागि लगानीको वातावरण बन्दैन । विप्रेषणको रकम सकेसम्म उत्पादनमूलक कामका लागि खर्च गर्नु पर्दछ ।

विप्रेषणकै आम्दानीबाट दैनिक घरखर्च चलाउनुपर्ने अवस्था छ भने पनि सकेसम्म कम खर्च गरी धेरै रकम बचत गर्नु पर्दछ ।

बचतको उक्त रकमलाई आयआर्जन हुने क्षेत्रमा लगानी गर्नु पर्दछ । यसो गर्दा पटक पटक आय आर्जन गर्न धेरै दुःख र जोखिम बोकेर विदेश गइरहनु पर्दैन । देशभित्रै केही काम गरी परिवारसँगै हाँसी खुशी बस्न सकिन्छ ।