Dhulikhel Eco Banner new

ग्रामीण विकास लघुवित्तको खुद नाफा बढ्यो

3.35K
shares

काठमाडौं, १२ वैशाख । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ।

उक्त विवरण अनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीको खुद नाफा गत आवको सोही अवधिको तुलनामा १६.८० प्रतिशतले बढेको छ। कम्पनीले गत आवको चैत मसान्तसम्म २१ करोड १३ लाख खुद नाफा कमाएकोमा चालू आवको सोही अवधिमा बढेर २४ करोड ६८ लाख पुगेको हो।

यस वर्ष कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानी बढेकाले खुद नाफा बढ्न टेवा पुगेको हो।कम्पनीको सञ्चालन नाफा गत आवमा ३० करोड ४३ लाख रहेकोमा चालू आवमा बढे ३५ करोड १४ लाख पुगेको छ भने खुद ब्याज आम्दानी गत आवमा ६४ करोड ६५ लाख रहेकोमा चालू आवमा बढेर ८५ करोड ७७ लाख नाघेको छ।

कम्पनीले करीब १३ करोड रुपैयाँ सापटी लिएर १२ अर्ब ३७ करोड कर्जा प्रवाह गरेको छ भने झण्डै साढे ३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ २८२ रुपैयाँ ४८ पैसा छ।

त्यस्तै गत वर्ष कम्पनीको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ५१ पैसा रहेकोमा चालू आवमा बढेर २५ रुपैयाँ १२ पैसा पुगेको छ भने खराब कर्जा ६.९८ प्रतिशतबाट घटेर ४.४२ प्रतिशतमा झरेको छ।

कम्पनीको चुक्ता पूँजी ९८ करोड २५ लाख छ भने शेयर प्रिमियम करीब पौने ७ करोड, रिजर्भ कोषमा २ अर्ब बढी र जगेडा कोषमा २८ करोड ऋणात्मक रहेको छ।