Dhulikhel Eco Banner new

अर्थतन्त्रमा नियामकीय बोझ घटाउन १५ पुराना ऐन खारेज गर्ने तयारी

403
shares

काठमाडौं, ८ मंसिर । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक गतिविधिलाई सहज र लगानीमैत्री बनाउन समयसापेक्ष नरहेका पुराना कानून खारेज तथा संशोधन गर्नुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ माथिको दफावार छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन् ।

अर्थमन्त्री वाग्लेले नयाँ कानून थप्दै जाने तर पुराना कानून संशोधन तथा खारेज गर्न ढिलाइ गर्ने प्रवृत्तिले अर्थतन्त्रमा अनावश्यक नियामकीय बोझ सिर्जना गरेको बताए । नियमन आवश्यक भए पनि अत्यधिक र एकअर्कासँग बाझिने कानूनी व्यवस्थाले आर्थिक गतिविधिमा अवरोध पुर्‍याउन सक्ने उनको भनाइ छ ।

उनले विभिन्न अध्ययन तथा प्रतिवेदनले खारेज गर्न सिफारिस गरेका १५ वटा ऐन हटाउने प्रक्रिया अघि बढाइएको जानकारी दिए । थप अध्ययनका लागि नयाँ आयोग गठन गर्नुभन्दा यसअघि नै प्राप्त सुझाव कार्यान्वयन गर्ने उद्देश्यले विधायिकी सुधारको काम अघि बढाइएको उनले स्पष्ट पारे ।

एउटा ऐनले आर्थिक गतिविधिलाई सहज बनाउने तर अर्को ऐनले नियन्त्रण गर्ने अवस्था हुँदा नीतिगत विरोधाभास उत्पन्न हुने भन्दै उनले कानून निर्माणसँगै पुराना कानूनको पुनरावलोकन पनि आवश्यक रहेको बताए ।

तत्कालीन समय र परिस्थितिअनुसार निर्माण गरिएका कानूनहरू आधुनिक प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) को युगमा सान्दर्भिक छन् कि छैनन् भन्ने विषयमा पुनर्विचार गर्नुपर्ने उनको भनाइ थियो । असान्दर्भिक कानून खारेज गरी आवश्यक व्यवस्थालाई आधुनिक ऐनमा समेट्नुपर्ने उनले बताए ।

अर्थ मन्त्रालयसँग सम्बन्धित प्रादेशिक विकास योजना कार्यान्वयन ऐन, २०१३, नेपाली मुद्राको चलनचल्ती बढाउने ऐन, २०१४, आय टिकट दस्तुर ऐन, २०१९, राजस्व चुहावट ऐन, २०५२ र वित्तीय मध्यस्थताको काम गर्ने संस्था सम्बन्धी ऐन, २०५५ लगायतका कानून खारेज गर्ने प्रस्ताव गरिएको अर्थमन्त्री वाग्लेले जानकारी दिए ।

त्यस्तै, मूल्य अभिवृद्धि कर ऐन, २०५२, आयकर ऐन, २०५८ र भन्सार ऐन, २०६२ मा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि अघि सारिएको उनले बताए ।

प्रतिवेदनले खारेज गर्न सिफारिस गरेका १५ ऐनमध्ये केही अर्थ मन्त्रालय र केही अन्य मन्त्रालयको कार्यक्षेत्रमा पर्ने भएकाले सम्बन्धित मन्त्रालयले आ–आफ्नो जिम्मेवारीअनुसार सुधार प्रक्रिया अघि बढाउनुपर्ने उनले उल्लेख गरे ।

अर्थमन्त्री वाग्लेले टिकट टाँस्नेसम्बन्धी कानून र कालोबजारीसम्बन्धी पुराना कानूनी व्यवस्थाको उदाहरण दिँदै नयाँ उपभोक्ता संरक्षणसम्बन्धी कानून आइसकेको अवस्थामा पुराना कानूनको औचित्यसमेत पुनरावलोकन गर्नुपर्ने बताए ।