विकट क्षेत्रमा आवासीय विद्यालय खोलिने, निजी विद्यालयका लागि राष्ट्रिय नियमन मापदण्ड जारी हुने
वि.सं.२०८२ वैशाख १९ शुक्रवार १७:१५
shares

काठमाडौं, १९ वैशाख । सरकारले विकट भौगोलिक क्षेत्रलाई लक्षित गरी आवासीय विद्यालयहरू स्थापना गर्ने घोषणा गरेको छ। संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा क्षेत्रका विभिन्न सुधारात्मक कदमहरूको जानकारी गराएका हुन्।
राष्ट्रपति पौडेलले विकट क्षेत्रमा शिक्षाको पहुँच विस्तार गर्न आवासीय विद्यालयको संरचना विकास गर्ने र त्यसका लागि आवश्यक स्रोत र जनशक्ति व्यवस्थापन गर्ने सरकारको योजना रहेको बताए।
त्यस्तै, सरकारले निजी विद्यालयका लागि राष्ट्रिय नियमन मापदण्ड जारी गर्ने तयारी गरेको छ, जसले निजी शिक्षा क्षेत्रमा देखिएको असमानता, शुल्क नियमन, गुणस्तर र जवाफदेहिता सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।
नीति तथा कार्यक्रममा शिक्षक दरबन्दीको पुनरावलोकन, विश्वविद्यालयसँग सहकार्यमा शिक्षक बैंकको स्थापना, र शिक्षकका लागि राष्ट्रिय योग्यता मापदण्ड जारी गर्ने योजना पनि समावेश गरिएको छ।

















