Dhulikhel Eco Banner new

आईटी कम्पनीलाई विदेशमा १० लाख डलरसम्म लगानी गर्न अनुमति

2.64K
shares

काठमाडौं, ५ असार । नेपाल राष्ट्र बैंकले सूचना प्रविधि (आईटी) उद्योगका लागि विदेशमा लगानी गर्न सक्ने व्यवस्था गरेको छ। राष्ट्र बैंकले विनियमावली संशोधन गर्दै आईटी कम्पनीहरूले अब १० लाख अमेरिकी डलरसम्म विदेशमा लगानी गर्न सक्ने व्यवस्था गरेको हो।

राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ लाई चौथो पटक संशोधन गरी नयाँ व्यवस्था लागू गरेको हो। संशोधनअनुसार अब योग्य आईटी कम्पनीहरूले विदेशी मुद्रा सटही सुविधा लिई विदेशमा शाखा खोल्न, साझेदारी गर्न वा प्रत्यक्ष सेयर लगानी गर्न सक्नेछन्।

सरकारले यसअघि माघ महिनामा अध्यादेशमार्फत कानुन संशोधन गर्दै नेपाली कम्पनीहरूले विदेशमा शाखा स्थापना गर्न र विदेशी कम्पनीमा लगानी गर्न सक्ने अधिकार दिएको थियो। सो प्रयोजनका लागि ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५’, ‘कम्पनी ऐन २०६३’ र ‘विदेशी विनिमय ऐन २०१९’ संशोधन गरिएको थियो।

त्यसपछि राष्ट्र बैंकले विनियमावलीमा ‘परिच्छेद ५ क’ थप गर्दै विदेशमा लगानीको स्पष्ट कार्यविधि तय गरेको हो। यसअन्तर्गत योग्य तथा छुट प्राप्त कम्पनीहरूले राष्ट्र बैंकबाट विदेशी मुद्रा सटहीको स्वीकृति प्राप्त गरेर लगानी गर्न सक्नेछन्।