राष्ट्र बैंकको कार्यदललाई असार ११ सम्म सुझाव पठाउन आग्रह
वि.सं.२०८२ असार ५ बिहीवार १०:३२
shares

काठमाडौं, ५ असार । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्र सुधारका लागि गठन गरिएको सुझाव कार्यदललाई सुझाव पठाउन आग्रह गरेको छ। केन्द्रीय बैंकले बुधवार सूचना प्रकाशित गर्दै सरोकारवाला निकाय, विज्ञ तथा व्यक्तिहरूलाई आफ्नो अनुभव र ज्ञानका आधारमा असार ११ गतेसम्म सुझाव दिन अनुरोध गरेको हो।
सुझाव पठाउन चाहनेले कार्यदलको ईमेल ठेगाना [email protected] मा असार ११ गतेभित्र सुझाव पठाउन सक्ने सूचनामा उल्लेख छ।
बैंकिङ प्रणालीलाई अझ सबल, पारदर्शी र समावेशी बनाउने उद्देश्यले राष्ट्र बैंकले तीन सदस्यीय सुझाव कार्यदल गठन गरेको हो। धितोपत्र बोर्डका पूर्वअध्यक्ष तथा राष्ट्र बैंकका पूर्वनिर्देशक डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा कार्यदल गठन गरिएको हो।
यस कार्यदल गठन गर्ने निर्णय राष्ट्र बैंक सञ्चालक समितिको जेठ २१ गते बसेको बैठकबाट गरिएको हो। उक्त बैठकमा गभर्नर डा. विश्व पौडेलको प्रस्तावअनुसार कार्यदल गठन गरिएको थियो।
समितिलाई ३० दिनभित्र आफ्नो प्रतिवेदनसहितको सुझाव राष्ट्र बैंकमा पेश गर्न समयसीमा तोकिएको छ।














