प्रहरी जवानमा थप ६७७ जनाका लागि भर्ना खुल्यो
वि.सं.२०८२ असार ६ शुक्रवार १०:२८
shares
सांकेतिक तस्वीर
काठमाडौं, ६ असार । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ प्रहरी जवान पदका लागि नयाँ भर्नामा ६७७ पद थप गरेको छ। यससँगै अब प्रहरी जवान बन्न १ हजार ८४२ जनालाई अवसर मिल्ने भएको छ। प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले बिहीवार एक सूचना जारी गर्दै प्रारम्भिक रूपमा माग गरिएको १ हजार १६५ पदमा थप गरिएको जानकारी दिएको हो।
सूचना अनुसार, थप गरिएको पदसहित अब खुला प्रतिस्पर्धाबाट ९९३ जना प्रहरी जवान लिइनेछ। त्यसैगरी समावेशी कोटामा आदिवासी,जनजातिका लागि २६०, मधेसीका लागि २२८, महिलाका लागि १६२, दलितका लागि १२२, पिछडिएको क्षेत्रका लागि ४० र अमर तथा अशक्त प्रहरी परिवारका लागि ३७ पद आरक्षित गरिएको छ। प्रहरीले यो पद संख्या थप सर्वोच्च अदालतको आदेश कार्यान्वयनस्वरूप गरिएको स्पष्ट पारेको छ।



















