Dhulikhel Eco Banner new

हुण्डीमार्फत रकम पठाउनु अब आफैँलाई फसाउनु होः राष्ट्र बैंक

2.55K
shares

काठमाडौं, १७ असार । नेपाल राष्ट्र बैंकले हुण्डी कारोबारप्रति कडा सचेतना जारी गर्दै सर्वसाधारणलाई यसप्रकारको गैरकानुनी कारोबारबाट टाढा रहन आग्रह गरेको छ। राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले सूचना जारी गर्दै वैदेशिक विप्रेषण तथा रकम स्थानान्तरणजस्ता कार्यका लागि आधिकारिक माध्यम मात्र प्रयोग गर्न स्पष्ट सन्देश दिएको हो।

हुण्डी भन्नाले अधिकृत बैंक तथा वित्तीय संस्था वा अनुमोदित भुक्तानी प्रणालीबाहेक अन्य व्यक्तिहरू वा माध्यमबाट गरिने अवैध रकम स्थानान्तरणलाई जनाइन्छ। यस्तो कारोबार नेपालको मुलुकी अपराध संहिता, २०७४ को दफा १२५९क० अनुसार कानुनी अपराध हो, जसमा संलग्न व्यक्तिलाई एक वर्षसम्मको कैद सजाय, विगो उठाउने र त्यसबाट आर्जित सम्पत्ति जफत गर्ने कानुनी व्यवस्था छ।

राष्ट्र बैंकद्वारा प्रकाशित सूचनाअनुसार, “रकम स्थानान्तरणसम्बन्धी कुनै पनि व्यवसायिक कारोबारमा वास्तविक हिसाब किताब नदेखाई रकम भुक्तानी लिन वा दिनु हुँदैन। यसले तपाईंलाई गम्भीर कानुनी झमेलामा पार्न सक्छ।”

राष्ट्र बैंकले वैदेशिक रोजगार तथा अन्य प्रयोजनका लागि रकम पठाउने वा प्राप्त गर्ने नागरिकहरूलाई केवल बैंक, वित्तीय संस्था तथा राष्ट्र बैंकबाट अनुमोदित विप्रेषण कम्पनीहरूकै प्रयोग गर्न सुझाव दिएको छ। “क्षणिक लाभको लोभमा गैरकानुनी हुण्डी कारोबारमा नफसौं,” सूचनामा उल्लेख गरिएको छ।

साथै, वित्तीय कारोबारसँग सम्बन्धित कुनै गुनासो वा समस्या भएमा राष्ट्र बैंकको वित्तीय ग्राहक संरक्षण इकाई मार्फत अनलाइन गुनासो दर्ता पोर्टल वा सम्पर्क नम्बरहरू प्रयोग गर्न सकिने जानकारी पनि दिइएको छ।