काठमाडौं महानगरपालिकाको बजेट ढिलाइमा मेरो संलग्नता छैन : गुरागाईं
वि.सं.२०८२ असार २२ आइतवार १५:४८
shares

काठमाडौं, २२ असार । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले आफ्नो कारणले बजेट रोकिन नहुने बताएका छन् ।
आइतबार सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले बजेट ल्याउनुपर्ने पक्षमा आफू स्पष्ट रहेको बताएका हुन्। म बजेट आउनुपर्छ भन्नेमा छु, गुरागाईंले भने,मेयर बालेन शाह, उपमेयर सुनिता डंगोल र अन्य जनप्रतिनिधिको निर्णयमा बाधक नबन्ने मेरो अडान पहिले पनि स्पष्ट पारिसकेको छु।
तर, उनले काठमाडौं टावरको विषयलाई बजेटसँग जोड्नु उपयुक्त नभएको जिकिर गरे। “कसैले ‘तँ भ्रष्टाचारी हो’ भनेर भनेकै भरमा कोही भ्रष्टाचारी ठहरिँदैन,” उनले भने।
महानगरको बजेट कार्यान्वयनमा ढिलाइ भइरहेका बेला प्रमुख प्रशासकीय अधिकृत र मेयरबीचको मतभेद सतहमा आएको छ। यस्तै परिस्थितिमा गुरागाईंले आफूमाथि पटक–पटक आक्षेप लागिरहेकोप्रति असन्तोष जनाउँदै भने, “मैले काठमाडौं टावरसम्बन्धी निर्णयमा कुनै नयाँ काम गरेको छैन, पहिले नै भएको निर्णयअनुसार प्रमाणपत्र दिएको हुँ।
उनले आफूमाथि लागेको आरोप विगतमा पनि समाचारमार्फत् खण्डन भइसकेको भन्दै पुनः त्यही आरोपहरू दोहोरिनु आश्चर्यजनक रहेको बताए। “किन बारम्बार ममाथि मात्रै प्रहार भइरहेको छ भन्ने अझै बुझेको छैन,” गुरागाईंको भनाइ छ।


















