जेठ महिनामा महँगी घट्दै २.७२ प्रतिशतमा सीमित
वि.सं.२०८२ असार २४ मंगलवार १२:४८
shares

काठमाडौं, २४ असार । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (महँगी)घटेर २.७२ प्रतिशतमा झरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार यो दर अघिल्लो वर्षको सोही महिनाको ४.१७ प्रतिशतको तुलनामा उल्लेखनीय रुपमा कम हो।
जेठ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ०.५४ प्रतिशतमा सीमित रहँदा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति भने ३.९४ प्रतिशत पुगेको छ। गत वर्ष यिनै समूहको मुद्रास्फीति क्रमशः ५.८५ प्रतिशत र ३.०७ प्रतिशत थियो।
खाद्य समूहमा घ्यू तथा तेल उप–समूहको मूल्य १०.०६ प्रतिशतले, गैर–मदिराजन्य पेय पदार्थको ५.१३ प्रतिशतले, फलफूलको ३.५१ प्रतिशतले र दालरगेडागुडीको २.८५ प्रतिशतले बढेको छ।
तरकारी उप–समूहको मूल्य ७.०४ प्रतिशतले, मरमसला ३.०६ प्रतिशतले र माछारमासु २.९१ प्रतिशतले घटेको देखिएको छ। गैर–खाद्य तथा सेवा समूहमा विविध वस्तु तथा सेवाको मूल्य ९.४३ प्रतिशत, कपडा तथा जुत्ताचप्पल ६.८२ प्रतिशत, शिक्षा ५.८८ प्रतिशत, फर्निचर तथा घरायसी उपकरण ५.०६ प्रतिशत र सुर्तीजन्य पदार्थको मूल्य ४.६८ प्रतिशतले बढेको छ।
कुल मिलाएर, मुद्रास्फीति घट्दै गए पनि केही उपसमूहमा उपभोक्तालाई अझै मूल्य वृद्धि महशुस भइरहेको राष्ट्र बैंकले जनाएको छ।

















