सरकारी खर्चका लागि बुधबार अन्तिम दिन, अझै १ खर्ब ९५ अर्ब खर्च गर्न बाँकी
वि.सं.२०८२ असार २५ बुधवार १०:४२
shares

काठमाडौं, २५ असार । आर्थिक वर्ष २०८१/८२ सकिन अब केही घण्टा मात्र बाँकी रहँदा सरकारले संशोधित खर्च लक्ष्य पुरा गर्न बुधबार (असार २५) भित्रै १ खर्ब ९५ अर्ब ७९ करोड रुपैयाँ खर्च गर्नुपर्ने देखिएको छ। । महालेखा नियन्त्रक कार्यालयले असार २५ पछि सार्वजनिक निकायहरूलाई चेक जारी गर्न निषेध गरेपछि अत्यावश्यक खर्चबाहेकका सबै भुक्तानी आजै सम्पन्न गर्नुपर्नेछ।
सरकारले चालु वर्षको बजेटमा १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको थियो। तर संशोधित अनुमान अनुसार १६ खर्ब ६२ अर्ब ३७ करोड रुपैयाँ खर्च हुने देखिएको छ। मंगलबारसम्म सरकारले १४ खर्ब ६६ अर्ब ५८ करोड रुपैयाँ खर्च गरिसकेको छ।
त्यसमध्ये चालुतर्फ ९ खर्ब ६४ अर्ब १ करोड, पुँजीगततर्फ १ खर्ब ८६ अर्ब ६१ करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब १५ अर्ब ९६ करोड रुपैयाँ खर्च भइसकेको छ। यो क्रमशः ८४.५१ प्रतिशत, ५२.९६ प्रतिशत र ८६.०३ प्रतिशत हो।
संशोधित लक्ष्य पूरा गर्न सरकारले बुधबारभित्र थप १ खर्ब ९५ अर्ब ७९ करोड रुपैयाँ खर्च गर्नुपर्ने देखिन्छ। त्यसअनुसार चालुतर्फ ४५ अर्ब ४७ करोड, पुँजीगततर्फ १ खर्ब ७ अर्ब २५ करोड र वित्तीय व्यवस्थातर्फ ४२ अर्ब ५० करोड रुपैयाँ खर्च गर्नुपर्ने अवस्था छ।
यसबीच मंगलबारसम्म सरकारको कुल खर्च ७८.८४ प्रतिशत मात्रै पुगेको छ। विशेषगरी पुँजीगत खर्च अत्यन्तै न्यून देखिएको छ ।


















