नर्बेमा आयोजना हुने १०औँ संस्करणको भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
प्रवासी नेपालीबीच भाइचारा बढाउने विश्वास
वि.सं.२०८२ असार २८ शनिवार १९:५९
shares

नर्बे, १२ जुलाई । नेपाली कांग्रेस निकट प्रवासीहरुको छाता संस्था नेपाली जनसम्पर्क समिति नर्बेले आयोजना गर्ने भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । समितिको आयोजनामा हरेक वर्ष हुँदै आएको प्रतियोगिता यस वर्ष आइतबार अर्थात १३ जुलाईमा हुन लागेको हो ।
समितिले सन् २०१५ देखि हरेक वर्ष भलिवल प्रतियोगिता आयोजना गर्दै आएको थियो । प्रवासमा रहेका नेपालीहरुलाई खेलको माध्यमबाट आपसमा जोड्न र नेपालीबीच भाइचारा बढाउनका लागि आयोजना हुने गरेको यस प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्थाले बताएको छ ।
प्रतियोगितामा सहभागी हुनका लागि ८ वटा टिम दर्ता रहेका छन् । ८ टिमहरुमा प्रवासी नेपालीहरुका विभिन्न उद्देश्य बोकेका संघ संस्थाहरु रहेका छन् । विगतका इतिहासहरु हेर्दा मगर समाज र नेपाली पोर्चुगिज समाजबीचको खेल रोचक र प्रतिष्पर्धात्मक हुने देखिन्छ । यि दुई टिमलाई सम्भावित विजेताका रुपमा समेत हेरिएको छ । यद्यपि यि बाहेका अन्य ६ टिमहरु पनि कमजोर भने छैनन् ।
राजधानी ओस्लोमा हुने प्रतियोगिताले प्रवासी नेपालीहरुको ध्यान खिचेको छ । मौसम अनुकूल रहेमा करिव ७५० जना प्रत्यक्ष दर्शी उपस्थित रहने व्यवस्थापन पक्षका संयोजक चक्र बिक्रम शाही तथा संस्थाका वरिष्ठ उपाध्यक्ष पूर्ण शाहीले दाबी गरेका छन् ।



















