काठमाडौं महानगरले आइतवार करिब २५ अर्बको बजेट ल्याउने
वि.सं.२०८२ असार २९ आइतवार १०:३५
shares

काठमाडौं, २९ असार । लामो समयदेखि चलिरहेको आन्तरिक विवादका कारण ढिलाइ भएको काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०८२/८३ को बजेट आइतवार सार्वजनिक हुँदैछ। बजेट आज दिउँसो २ बजे बस्ने नगरसभामा मेयर बालेन्द्र शाह (बालेन) द्वारा प्रस्तुत गरिनेछ।
सामान्यतः स्थानीय तहहरूले असार १० भित्र बजेट ल्याउने परम्परा रहँदै आएको भए पनि यस वर्ष महानगरभित्रको आन्तरिक राजनीतिक तनावका कारण बजेट पेश गर्न ढिलाइ भएको हो।
गत शुक्रबार बसेको कार्यपालिका बैठक अत्यन्त छोटो, करिब एक मिनेटमै सम्पन्न भएको थियो। उक्त बैठकमा मेयर शाहले नगरसभा आह्वान गर्ने प्रस्ताव राखेका थिए, जसलाई कार्यपालिका सदस्यहरूले सर्वसम्मत रूपमा समर्थन गरेका थिए।
महानगरले आगामी वर्षका लागि करिब २५ अर्ब रुपैयाँको बजेट सीमा तय गरेको छ। मेयर शाहले उक्त बजेट विकासको प्राथमिकता र जनताको चाहनाअनुसार विनियोजन गरिने बताएका छन्। विशेषगरी पूर्वाधार क्षेत्रमा लगानी बढाइने र नागरिकको दैनन्दिन जीवन सहज बनाउने काममा बजेट केन्द्रित गरिने उनको भनाइ छ।
राजस्व परामर्श समितिले पनि चालु आर्थिक वर्षको तुलनामा आगामी वर्ष पूर्वाधार क्षेत्रमा थप लगानी आवश्यक रहेको निष्कर्ष निकालेको छ। त्यसका आधारमा बजेटमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ।


















