Dhulikhel Eco Banner new

गुल्मीका अधिकांश क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध

2.09K
shares

काठमाडौं, ३० असार ।गुल्मी जिल्लाका अधिकांश क्षेत्रमा आइतबार रातिदेखि विद्युत आपूर्ति अवरुद्ध भएको छ। कपिलवस्तुको मोतिपुर नजिकै रहेको १३२ केभी क्षमताको प्रसारण लाइनको टावरमा हावाहुरीका कारण क्षति पुगेसँगै गुल्मी वितरण केन्द्रअन्तर्गतको सेवा प्रभावित भएको हो।

नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोखरेलका अनुसार प्रसारण लाइनमा समस्या देखिएपछि सेवा अवरुद्ध भएको हो। विद्युत आपूर्ति बन्द भएपछि प्रशासनिक सेवा, सञ्चार, उद्योगधन्दा तथा घरायसी कार्यहरूमा असर परेको छ।

विद्युत प्राधिकरणले उत्पन्न असुविधाप्रति ग्राहक वर्गसँग क्षमायाचना व्यक्त गरेको छ। साथै, समस्या समाधानका लागि प्राविधिक टोली खटाइएको जनाउँदै यथाशीघ्र मर्मत कार्य सम्पन्न गरिने प्रतिबद्धता जनाएको छ।

विद्युत प्राधिकरणले पूर्ण मर्मत कार्य नभएसम्म सेवा पुनः सञ्चालन हुन नसक्ने जनाएको छ र सेवाग्राहीहरूलाई केही समय धैर्य धारण गर्न अनुरोध गरेको छ।