राष्ट्रियस्तरका ‘ग’ वर्ग वित्त कम्पनीको निक्षेप संकलन सीमा खारेज
वि.सं.२०८२ साउन १ बिहीवार ०९:०४
shares

काठमाडौं, १ साउन । नेपाल राष्ट्र बैंकले राष्ट्रिय स्तरमा सञ्चालनमा रहेका १५ फाइनान्स कम्पनीको निक्षेप संकलनमा लाग्ने सीमा हटाएको छ। बुधबार जारी गरिएको निर्देशनमार्फत बैंकले ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरूलाई निक्षेप संकलनमा कुनै सीमा नलाग्ने व्यवस्था गरेको छ।
राष्ट्र बैंकका अनुसार हाल १७ फाइनान्स कम्पनी सञ्चालनमा छन्, जसमध्ये १५ राष्ट्रिय स्तरका कम्पनी हुन्। यी कम्पनीहरूले अबदेखि आफ्नो निक्षेप संकलनमा १५ प्रतिशतको पुरानो सीमा लागू नहुने भएको छ।
त्यस्तै, ‘ग’ वर्गका राष्ट्रिय स्तर बाहेकका इजाजतपत्रप्राप्त संस्थाले आफ्नो प्राथमिक पुँजीको बढीमा १५ गुणासम्म वित्तीय स्रोत संकलन गर्न सक्ने व्यवस्था पनि गरिएको छ। यस अन्तर्गत ब्याज वा बिना ब्याजमा स्वीकार गरिने निक्षेप, सापटी तथा विभिन्न किसिमका ऋण उपकरणहरू समावेश छन्।


















