Dhulikhel Eco Banner new

कलंकीमा माटो र धुलो फैलाएको आरोपमा स्वतन्त्र यातायातलाई ५० हजार जरिवाना

3.19K
shares

काठमाडौं, १७ साउन । काठमाडौंको कलंकी खसी बजार अगाडि रिङ्गरोड क्षेत्रमा निर्माणाधीन ईभी चार्जिङ्ग स्टेशनको कामका क्रममा सडकमा माटो र धुलो खसालेको भन्दै स्वतन्त्र यातायात प्रा.लि.लाई काठमाडौं महानगर प्रहरीले जरिवाना गरेको छ।

महानगर प्रहरी बलका अनुसार सार्वजनिक सडकमा माटो र धुलो फैलाएर ट्राफिक व्यवस्थामा अवरोध पुर्‍याएको, पैदलयात्रीलाई असजिलो बनाएको र वातावरणीय मापदण्डको उल्लंघन गरेको पाइएपछि कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना तिराइएको हो।

प्रहरीका अनुसार उक्त निर्माण कार्यका कारण सडक छेउको हिँडडुलमा कठिनाइ भएको, ट्राफिक प्रभावित भएको र वातावरणमा नकारात्मक असर देखिएकोले कारबाही गरिएको हो।

महानगरले निर्माण तथा पूर्वाधार विकासका क्रममा सार्वजनिक स्थानमा हुने अव्यवस्था नियन्त्रण गर्न नियमित अनुगमन गर्दै आएको छ। यसै क्रममा कलंकी क्षेत्रमा भइरहेको कामका क्रममा लापरवाही देखिएपछि तुरुन्त कारबाही गरिएको हो।

काठमाडौं महानगरपालिकाले यस्ता कार्यमा संलग्न कम्पनी र संस्थाहरुलाई वातावरणीय मापदण्ड पालना गर्न र सार्वजनिक सहुलियतको ख्याल राख्न आग्रह गर्दै आएको छ।