महालक्ष्मी विकास बैंकका चार कर्मचारीद्धारा २ करोड ८५ लाख अपचलन
वि.सं.२०८२ साउन २६ सोमवार ११:१८
shares

काठमाडौं, २६ साउन । महालक्ष्मी विकास बैंकको दार्चुला शाखाबाट चार जना कर्मचारीले बैंकको करिब २ करोड ८४ लाख ७६ हजार ७ सय रुपैयाँ अपचलन गरेको खुलासा भएको छ। उनीहरूले नेपालमा प्रतिबन्धित अनलाइन जुवा साइट ‘वान एक्स बेट’मा बैंकको रकम प्रयोग गर्दै अपचलन गरेको आरोपमा पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा शाखा प्रबन्धक सागर शाही, कर्मचारी निर्मला साउद, धनन्जय पन्त र अम्बादत्त पन्त रहेका छन्। धनन्जय पन्त आइतवार पक्राउ परेका हुन् भने बाँकी तीन जनालाई शनिवार नै नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक छत्रबहादुर राउतले बताएका छन्।
बैंकले दिएको उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। निरीक्षक राउतका अनुसार चारै जनाले मिलेमतोमा बैंकको मूल खातामा मौज्दात रकम देखाएर अवैध रूपमा रकम हिनामिना गरेका थिए।
बैंकको प्रारम्भिक अनुसन्धानबाट उनीहरूले प्रतिबन्धित अनलाइन जुवा प्लेटफर्म वान एक्स बेटमा बैंकको रकम लगानी गरेको प्रमाण भेटिएको छ। उक्त अपचलन प्रकरण सार्वजनिक भएपछि महालक्ष्मी विकास बैंकको केन्द्रीय टोली बिहीवार गोकुलेश्वर शाखामा पुगेको थियो।
बैंकले संलग्न चारै कर्मचारीलाई तत्काल निलम्बन गर्दै अनुसन्धानमा सहयोग गरिरहेको जनाएको छ। हाल शाखाको सञ्चालन हेमराज जोशीको नेतृत्वमा भइरहेको छ।
प्रहरी निरीक्षक राउतका अनुसार उनीहरूविरुद्ध बैंकिङ कसुर अन्तर्गत मुद्धा दर्ता गरी अदालतबाट सात दिनको म्याद लिई अनुसन्धान अगाडि बढाइएको छ।


















