वैदेशिक रोजगारमा रहेका नेपालीका लागि सागर डिस्टिलरीको आईपीओ खुला
वि.सं.२०८२ साउन २८ बुधवार १०:३८
shares

काठमाडौं, २८ साउन । वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि सागर डिस्टिलरी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन खुला गरेको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गरी आईपीओ निष्कासन गरेको हो।
कम्पनीले आफ्नो जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशत अर्थात् १४ लाख ५२ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गर्ने योजना सार्वजनिक गरेको छ। सोमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १० प्रतिशत अर्थात् १ लाख ४५ हजार २ सय कित्ता शेयर छुट्याइएको हो।
मेरोशेयर अनलाइन प्रणालीमार्फत इच्छुक लगानीकर्ताहरूले छिटोमा भदौ १ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिमा सबै शेयर नबिकेमा आईपीओ ढिलोमा भदौ ११ गतेसम्म खुला रहनेछ। वैदेशिक रोजगारीमा रहेका नागरिकलाई शेयर बाँडफाँट गरिसकेपछि मात्र सर्वसाधारणका लागि दोस्रो चरणको आवेदन खुल्नेछ।
क्रेडिट रेटिङ कम्पनी इन्फोमेरिक्स रेटिङले सागर डिस्टिलरीलाई बी प्लस रेटिङ प्रदान गरेको छ। यो रेटिङले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको संकेत गर्छ।

















