नेपाल राष्ट्र बैंकमा ११ कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर
वि.सं.२०८२ कात्तिक १८ मंगलवार १३:४३
shares

काठमाडौं, १८ कात्तिक । नेपाल राष्ट्र बैंकमा एकैपटक ११ जना कार्यकारी निर्देशकहरूको जिम्मेवारी हेरफेर गरिएको छ। गभर्नर डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्था नियमन विभाग र विदेशी विनियम व्यवस्थापन विभागसहितका प्रमुख विभागहरूमा व्यापक सरुवा र पुनःव्यवस्था गरेका हुन्।
गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्था नियमन विभागको जिम्मेवारी रामु पौडेललाई दिएका छन्। पौडेल गभर्नर भएपछि रामु पौडेललाई बैंक सुपरिवेक्षण विभागबाट मुद्रा व्यवस्थापन विभागमा पठाइएको थियो र प्रवक्ताको जिम्मेवारीबाट हटाइएका थिए। करिब ६ महिनापछि उनी पुनः राष्ट्र बैंकको शक्तिशाली मानिने नियमन विभागको नेतृत्वमा पुगेका छन्।
यसअघि नियमन विभागमा रहेका गुरु प्रसाद पौडेललाई मानव संसाधन व्यवस्थापन विभागमा सरुवा गरिएको छ।
त्यस्तै, रेवती प्रसाद नेपाललाई विदेशी विनियम व्यवस्थापन विभागबाट हटाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा पठाइएको छ भने विदेशी विनिमय व्यवस्थापन विभागको जिम्मेवारी किरण पण्डितले सम्हाल्ने भएका छन्।
किरण पण्डित रहेका भुक्तानी प्रणाली विभागमा अब वित्तीय संस्था सुपरिवेक्षण विभागका सत्येन्द्र तिमल्सिना पुगेका छन्। सो विभागमा मानव संसाधन व्यवस्थापन विभागमा रहेका विश्रुत थापाको सरुवा गरिएको छ।
मौद्रिक व्यवस्थापन विभागमा रहेका दयाराम शर्माको गभर्नर कार्यालयमा सरुवा भएको छ भने सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा रहेका रोशन कुमार सिग्देललाई बैंकिङ विभागमा पठाइएको छ। बैंकिङ विभागमा रहेका डा. डिल्लीराम पोखरेलको सरुवा मौद्रिक व्यवस्थापन विभागमा गरिएको छ।
यस्तै, संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा रहेका अनुज दाहाललाई मुद्रा व्यवस्थापन विभागमा पठाइएको छ। हालै बढेवा भई गभर्नर कार्यालयमा पदस्थापन भएका राजन विक्रम थापा संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागका प्रमुख बनेका छन्।















