Dhulikhel Eco Banner new

आप्रवासी लक्षित लेम्फी को नयाँ बचत खाता सेवा सार्वजनिक, दैनिक ब्याजसहित बचत गर्ने सुविधा

2.87K
shares

काठमाडौं, ३ मंसिर । लेम्फीले बेलायतमा बसोबास गर्ने आप्रवासीहरूका लागि तत्काल खोल्न सकिने बचत खाता सेवा सुरू गरेको छ। क्लियरबैंकसँगको सहकार्यमा ल्याइएको यो सेवा आप्रवासीलाई लक्षित गरी बेलायतमा पहिलोपटक सार्वजनिक गरिएको हो। कम्पनीका अनुसार करिब २० लाखभन्दा बढी प्रयोगकर्ताले लेम्फीको मोबाइल एप प्रयोग गरेर दैनिक ब्याजसहित बचत गर्न सक्नेछन् ।

बेलायतमा अध्ययरत विद्यार्थी, लाहुरे तथा विभिन्न क्षेत्रमा काम गर्ने नेपालीहरूको उपस्थितिलाई हेर्दा यो सेवा उनीहरूका लागि विशेष रूपमा उपयोगी हुने अपेक्षा गरिएको छ। हालै लेम्फीले नेपालका लागि भुक्तानी–पठाउने सेवा पनि ईसेवा मनी ट्रान्सफरसँगको सहकार्यमा सुरू गरिसकेको छ।

यो बचत सेवामा प्रयोगकर्ताले एपमा नै सिधै खाता सक्रिय गरी पैसा जम्मा गर्न सक्नेछन्। बचतमा वार्षिक ३.९२ प्रतिशत ब्याज उपलब्ध गराइनेछ, जुन बेलायतका अन्य वित्तीय संस्थाले दिँदै आएको औसत २.२७ प्रतिशतभन्दा धेरै हो। ब्याजदर बेलायतको केन्द्रीय बैंकले निर्धारण गर्ने आधारदरअनुसार समय–समयमा परिवर्तन हुने बताइएको छ। २०२३ मा बेलायतमा रहेका आप्रवासीहरूले आफ्नो परिवार र नातेदारलाई ९.३ अर्ब पाउण्डभन्दा बढी रकम पठाएका थिए, तर अझै पनि करिब ५० लाख मानिस, विशेषतः आप्रवासी, नियमित बैंक क्रेडिट सेवाबाट वञ्चित रहेको तथ्यांकले देखाउँछ।

लेम्फीले आप्रवासीहरूको आवश्यकतालाई ध्यानमा राख्दै पूर्ण वित्तीय सेवा प्रदान गर्ने लक्ष्यसहित आफ्नो योजनालाई एउटा नयाँ चरणमा पुर्‍याएको छ। यसअन्तर्गत क्रेडिट सेवा, वैकल्पिक क्रेडिट मूल्यांकन प्रणाली तथा आवश्यकता पर्दा पैसा पठाएर पछि तिर्न सकिने सुविधासमेत उपलब्ध गराइएको छ। अगस्ट २०२५ देखि हालसम्म ७ हजारभन्दा बढी ग्राहक यस सेवा प्रयोग गरिसकेका छन्।

कम्पनीका सह–संस्थापक तथा वित्त प्रमुख रियान कोचरानले आप्रवासीहरूलाई नयाँ देशमा सुरक्षित रूपमा बचत गर्न सक्षम बनाउनु नै यो सेवाको मूल उद्देश्य भएको बताए। क्लियरबैंकका प्रमुख ग्राहक अधिकारी जोन साल्टरले सबैका लागि बैंकिङ पहुँच खुला हुनुपर्छ भन्दै, लेम्फी–क्लियरबैंक सहकार्यले आप्रवासी समुदायको दैनिक आवश्यकताअनुसार सुरक्षित, पारदर्शी र सहज रूपमा उपयोग गर्न मिल्ने वित्तीय सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे।