धौलागिरी लघुवित्तका कर्मचारीले नै तिरेनन् ऋण
वि.सं.२०८२ मंसिर ५ शुक्रवार १३:४८
shares

काठमाडौं, ५ मंसिर। धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडका पूर्व–कर्मचारीहरूले संस्थाबाट लिएर लामो समयदेखि बक्यौता रहँदै आएको ऋण नतिरेपछि संस्थाले सार्वजनिक सूचना जारी गर्दै कानूनी कारबाही प्रक्रिया अघि बढाउने तयारी जनाएको छ।
लघुवित्तका अनुसार कर्मचारी सापटी कार्यविधिअनुसार लिइएको कर्जाको साँवा, ब्याज तथा अन्य शुल्क तोकिएको समयमा बुझाउनुपर्ने भए पनि सम्बन्धित कर्मचारीहरूले महिनौंसम्म बेवास्ता गर्दै नबुझाएपछि समस्या गम्भीर बन्दै गएको छ। कार्यरत रहँदा मासिक किस्ताबन्दीमा भुक्तानी गर्ने तथा सेवा समाप्त हुनु अघि सम्पूर्ण दायित्व चुक्ता गर्नुपर्ने नियमसमेत उल्लंघन भएको संस्थाले जनाएको छ।
पटक–पटक मौखिक र लिखित ताकेता गर्दा पनि कुनै चासो नदेखाएपछि लघुवित्तले कात्तिक २५ गते ७ दिने अवधि तोकी अन्तिम पत्र पठाएको थियो। तर सो म्यादभित्र पनि ऋणीहरूले प्रतिक्रिया नदिएको भन्दै संस्थाले कानूनी प्रकृयामा जाने चेतावनीसहित सूचना सार्वजनिक गरेको हो।
संस्थाले अब देनदार कर्मचारी तथा जमानीकर्तालाई कर्जा सूचना केन्द्रको कालो सूचीमा पठाउने प्रक्रिया अघि बढाइने बताएको छ। साथै प्रचलित ऐन तथा दुवै पक्षबीच भएको लिखित सर्तअनुसार आवश्यक कानूनी कारबाही हुने चेतावनीसमेत सूचनामा उल्लेख गरिएको छ।


















