लोकगायिका भुमिका शाहको ‘युरोप साँङ्गितिक कार्यक्रम’ हुने
वि.सं.२०८२ मंसिर २४ बुधवार १७:५५
shares

काठमाडौं, २४ मंसिर । लोकगायिका भुमिका शाह यही डिसेम्बर १५ तारिखदेखि सुरु हुने युरोप साँङ्गितिक यात्रामा सहभागी हुँदैछिन्। पहिलो कार्यक्रम नर्वेको ओस्लो सहरमा आयोजना हुने तय भएको छ। नेपाली कला र संस्कृति बाट आफूले के पाएँ भन्दा पनि आफूले के योगदान गर्न सक्छु भन्ने सोचका साथ कलाकारितामा लागेकी भुमिका शाह चितवनमा जन्मेकी हुन्। उनी बाल्यकालदेखि नै विद्यालयस्तरीय विभिन्न सांस्कृतिक कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्दै सबैको मन जित्न सफल भएकी थिइन्। १२ वर्षकै उमेरमा उनले चितवन माडी बसन्तपुरको फिल्म हलमा आयोजित सांस्कृतिक कार्यक्रममा पहिलो पटक स्टेज प्रस्तुति गरेकी थिइन्।

भुमिका शाह खेलकुदमा पनि उत्तिकै अब्बल मानिन्छिन्। दौड, छेलो, भाला हान्ने, लम्जम्, हाइजम्प, भलिबल लगायत विभिन्न खेलहरूमा पहिलो स्थान हासिल गर्दै उनले बिरेन्द्र सिल्ड समेत प्राप्त गरेकी छिन्। २०६५ सालमा उनले रेडियो नेपालको स्वर परीक्षामा सफलता हासिल गरेपछि संगीत क्षेत्रमा थप सक्रिय भएकी हुन्। ३६५ जनाले गाएको सबैभन्दा लामो वातावरणीय गीतमा सहभागी भएर उनले गिनिज बुकमा पनि आफ्नो नाम दर्ता गर्न सफल भएकी छिन्। उनी विभिन्न संघ–संस्थामा आवद्ध हुनुका साथै लोक दोहोरी प्रतिष्ठान केन्द्रकी आजीवन सदस्य तथा ललितपुर शाखाको सदस्य पनि हुन्। समाजसेवामा सक्रिय रही दुःखी तथा विपन्नका लागि सहयोग गर्दै आएकी भुमिका शाहलाई परिचित समाजसेवी कलाकारका रूपमा पनि चिनिन्छ।
यही डिसेम्बर १४ बाट युरोपको ओस्लो सहरबाट सुरु हुने कार्यक्रम नेपाल लोक तथा दोहोरी गीत प्रतिष्ठान युरोप शाखाद्वारा आयोजित पहिलो सांगीतिक कार्यक्रम हो। प्रतिष्ठानका अध्यक्ष सुवास चन्द्र पुनका अनुसार युरोपभर नेपाली लोक साहित्य, संस्कृति र दोहोरी गीतको प्रवर्द्धन, संरक्षण तथा व्यवस्थापनका उद्देश्यसहित यो कार्यक्रम आयोजना गरिएको हो। नर्वेमा रहेका सम्पूर्ण नेपालीलाई कार्यक्रममा सहभागी हुन आयोजकले अपिल गरेको छ।
युरोप भ्रमणको क्रममा ४ भाइ इभेन्टद्वारा डिसेम्बर २२ मा आयोजना गरिने अर्को कार्यक्रममा लोकप्रिय गायक खेम सेञ्चुरी, चर्चित डान्सर ओवी रायमाझी, लोकगायिका भुमिका शाह, आधुनिक तथा पप गायिका सृजना खत्री ‘हाउडे माया’ र पछिल्लो समय निकै चर्चामा रहेका गायक दुर्गेश थापाले धमाकेदार प्रस्तुति दिने तय भएको छ। अध्यक्ष पुनले नयाँ नेतृत्वले युरोपभर नेपाली संस्कृति र मौलिकतालाई अझ प्रभावकारी रूपमा प्रवर्द्धन गर्ने लक्ष्यअनुसार यो सांगीतिक यात्रा तय गरिएको बताएका छन्।

















