Dhulikhel Eco Banner new

प्रभु लाइफकी अध्यक्ष शिक्षा भट्टचनबारे अनुसन्धान गर्दै प्रहरी

21.8K
shares

काठमाडौं, २ पुस । बिवादित व्यवसायी देवीप्रकाश भट्टचनकी सुपुत्री शिक्षा भट्टचन पनि अनुसन्धानमा तानिने भएकी छिन् । हाल प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्ष रहेकी भट्टचनले अमेरिकी सिटिजन लिएर बसेको बारे अनुसन्धान हुने भएको हो ।

प्रभु समूहका अध्यक्ष समेत रहेका देवीप्रकाश भट्टचनलाई कात्तिक ११ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको थियो । स्वास्थ्य अवस्थाको कारण देखाउदै उनी कात्तिक १५ गते छुटिसकेका छन् । गत १४ मंसिरमा प्रक्राउ परेका प्रभु बैंकका सीईओ अशोक शेरचनसहितका अधिकारीहरु भने अहिले पनि प्रहरी हिरासतमै छन् । प्रभु समूहले प्रभु बैंकबाट ऋण लिएर मनपरी गरेको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रभु समूहको प्रवन्ध निर्देशकको रुपमा शिक्षा भट्टचन रहेकी छिन् ।

प्रहरी श्रोतका अनुसार शिक्षा भट्टचनका बारेमा २ वटा विषयमा बुझ्ने काम भइरहेको छ । पछिल्लो समय आएको गठी प्रकरणमा उनको संलग्नता रहेको वा नरहेको विषयमा र अर्को भनेको उनको सिटिजनको विषयमा समेत अनुसन्धान भइरकेको छ । एक प्रहरी अधिकारीका अनुसार शिक्षा भट्टचन अमेरिकी सिटिजन भएर नेपालको बीमा कम्पनी (पव्लिक कम्पनी) को अध्यक्ष भएर काम गरेको आरोप लागेको छ ।

‘अनुसन्धानको क्रममा उहाँले अमेरिकी सिटिजन भएर नेपालको बीमा कम्पनीको अध्यक्ष भएको भन्ने छ, यसबारे विस्तृतमा बुझ्ने काम भइरेको छ’ ति प्रहरी अधिकारीले केटिएम भ्वाइससँग भने । नेपाली बैंक तथा वित्तीय संस्था वा बीमा कम्पनीको सञ्चालक वा अध्यक्ष बन्नका लागि नेपाली नागरिक भएको हुनुपर्ने व्यवस्था छ । यस्तै घटनामा तत्कालीन गृहमन्त्री रबी लामिछानेको मन्त्री तथा सांसद पद नै गएको थियो । लामिछानेले भने अमेरिकी सिटिजन पहिले नै त्यागिसकेकाले त्यसबेला उनीमाथि प्रहरीले मुद्दा भने चलाएको थिएन । बीमा कम्पनी श्रोतका अनुसार शिक्षा भट्टचन अहिले पनि अमेरिकामै बसिरहेकी छिन् ।

यसबारे बुझ्न केटिएम भ्वाइसले प्रभु महालक्ष्मी लाइफ इन्स्यारेन्ससँग सम्पर्क गरेको थियो । कम्पनीका सूचना अधिकारी तोकिएका नमशसिंह देउजा सम्पर्कमा आउन चाहेनन् । कम्पनीको गुनासो सून्ने अधिकारीका रुपमा तोएिका प्रभात सिवाकोटी (९८५१३६४१४२) ले भने फोन उठाएनन् ।

बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणका सूचना अधिकारी पूर्णबहादुर थापाले अमेरिकी सिटिजन लिएर नेपाली बीमा कम्पनीको अध्यक्ष बनेको भए कारबाही हुने बताए । हालसम्म भने जानकारीमा नआएको भन्दै उनले अब प्राधिकरणले बुझ्ने बताए । ‘हामीलाई अहिले जानकारी छैन, अब कुरा आयो हामी बुझ्छौँ’ उनले भने, ‘त्यस्तो हो भने पाउने कुरै हुँदैन ।’