Dhulikhel Eco Banner new

छोटो समयमा बढी प्रतिफलको प्रलोभन ठगी हुन सक्छः राष्ट्र बैंक

4.71K
shares

काठमाडौं, ८ पुस । नेपाल राष्ट्र बैंकले वित्तीय कारोबार गर्दा उच्च सुरक्षा र सजगता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनाका लागि सन्देश जारी गर्दै विभिन्न किसिमका वित्तीय ठगीबाट सचेत रहन आग्रह गरेको हो ।

राष्ट्र बैंकका अनुसार अपरिचित व्यक्ति वा नम्बरबाट ह्वाटसप, भाइबर, मेसेन्जरजस्ता मोबाइल एप, इमेल, फोन वा म्यासेजमार्फत चिठ्ठा परेको, महँगो मोबाइल वा अन्य पुरस्कार जितेको, विदेशबाट सामान आएको, धन–सम्पत्ति वा सुन फेला परेको तथा छोटो समयमा धेरै प्रतिफल दिने योजना उपलब्ध भएको जस्ता सन्देशहरू आउन सक्नेछन् । यस्ता सन्देशप्रति विशेष सतर्कता अपनाउन बैंकले अनुरोध गरेको छ ।

केन्द्रीय बैंकले यस्ता सन्देशहरू वित्तीय ठगीका उद्देश्यले पठाइएका हुन सक्ने जनाएको छ । ठगीमा संलग्न व्यक्तिहरूले आकर्षक प्रस्तावको लोभ देखाएर बैंक खाताको विवरण, एटिएम पिन, ओटीपी, पासवर्ड तथा अन्य व्यक्तिगत र वित्तीय जानकारी चोरी गर्न सक्ने खतरा रहेको राष्ट्र बैंकले चेतावनी दिएको छ ।

त्यसैले कुनै पनि शंकास्पद सन्देश, फोन वा इमेल आएमा प्रतिक्रिया नदिन, व्यक्तिगत विवरण नबाँड्न र आवश्यक परे सम्बन्धित बैंक तथा वित्तीय संस्थामा जानकारी गराउन राष्ट्र बैंकले आग्रह गरेको छ ।