बजेट निर्माणमा आम नागरिकको सहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु
वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:५८
shares

काठमाडौं, २७ वैशाख । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमा प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा ल्याएको छ।
आगामी सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रमलाई जनमुखी, पारदर्शी तथा नागरिकका वास्तविक आवश्यकता र मौलिक अपेक्षाअनुसार तयार पार्ने उद्देश्यले उक्त डिजिटल प्लेटफर्म सुरु गरिएको कार्यालयले जनाएको छ।
पोर्टलमार्फत देश तथा विदेशमा रहेका नेपाली नागरिक, विषयविज्ञ, निजी क्षेत्र, सरोकारवाला तथा नीति निर्माताहरूले बजेट निर्माण, विकासका प्राथमिकता र सुशासनसँग सम्बन्धित आफ्ना राय–सुझाव प्रत्यक्ष रूपमा सरकारसमक्ष पेश गर्न सक्नेछन्।
सरकारको नीति निर्माण प्रक्रियालाई प्रशासनिक घेराभित्र मात्र सीमित नराखी आम जनताको भावना, अनुभव र विज्ञतालाई समेट्ने प्रधानमन्त्रीको योजनाअनुसार यो पहल गरिएको जनाइएको छ।
कार्यालयका अनुसार पोर्टलमा प्राप्त सुझावहरूलाई सम्बन्धित प्रशासनिक तहमा गम्भीरतापूर्वक समीक्षा गरी नीतिगत रूपमै कार्यान्वयनमा लैजाने तयारी गरिएको छ। साथै नागरिकले आफूले दिएका सुझावहरूको अवस्थाबारे जानकारी लिन सक्ने ‘सुझाव ट्र्याक’ सुविधा पनि प्रणालीमा समावेश गरिएको छ।
सरकारले यस डिजिटल पहलमा सक्रिय सहभागिता जनाउँदै ‘समृद्ध नेपाल’ निर्माण अभियानमा रचनात्मक योगदान दिन सम्पूर्ण नेपाली नागरिकलाई आग्रह गरेको छ।
नागरिकहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइटमार्फत सुझाव पोर्टलमा आफ्ना सुझावहरू सिधै प्रधानमन्त्रीको सचिवालयसम्म पठाउन सक्नेछन्।















