Dhulikhel Eco Banner new

लगानी बोर्डले पीपीपी परियोजनाको पाइपलाइन तयार गर्ने

6.33K
shares

काठमाडौं, २७ असार । लगानी बोर्डले पीपीपी परियोजनाको पाइपलाई तयार गर्ने भएको छ । परियोजना तयार गर्नका लागि लगानी बोडले एबीएन परियोजना बैंकमा प्रमाणीकरण कार्यशालाको आयोजना समेत गरेको छ ।

लागनीयोग्य, विश्वसनीय, दिगो एवं राष्ट्रिय प्राथमिकता अनुरूपका सार्वजनिक–निजी साझेदारीका परियोजना पूर्वतयारीसहित परियोजना बैंकमा सूचीकृत गर्नका लागि कार्यविधि तयार गरी विभिन्न सरोकारवालाबाट सुझाव तथा पृष्ठपोषण प्राप्त गर्ने उद्देश्यले सोमबार उक्त कार्यक्रमको आयोजना गरिएको हो । सो कार्यशाला गोष्ठीमा विभिन्न मन्त्रालय, दातृ निकाय, निजी क्षेत्रका प्रतिनिधिमूलक संस्था एवं बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

उक्त कार्यविधिले परियोजना बैंक स्थापनामा परियोजना पहिचान, छनौट तथा श्रेणीकरण, मूल्यांकन तथा प्राथमिकीकरणका चरणहरू समावेश गरेको छ । कार्यविधिले परियोजनाको पहिचान, छनौट र प्राथमिकीकरण मूलतः पारदर्शी ढंगले राष्ट्रिय प्राथमिकताका आधारमा हुने व्यवस्था गरेको छ ।

कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील घट्टले परियोजना बैंकबाट सार्वजनिक–निजी साझेदारीका परियोजनाहरू विकासमा एउटा मापदण्ड स्थापित गरिने बताए । जसले प्रमाणिक आधारमा निर्णय प्रक्रिया अघि बढाउन र जोखिमहरू कम गर्न मद्दत गर्ने उनको भनाइ छ ।

परियोजना बैंकले प्राथमिकताका परियोजनालाई व्यवसायिक रूपमा सम्भाव्य बनाउन सहुलियत ऋण, मिश्रित वित्त (ब्लेन्डेड फाइनान्स) तथा अन्य प्रोत्साहनका लागि सरकार एवं दातृ निकाय र विकास वित्त उपलब्ध गराउने संस्थाहरूसँग छलफल अघि बढाउने छ । प्रमुख कार्यकारी अधिकृत भट्टले परियोजना विकास बहुविधागत कार्य भएकाले परियोजना पूर्वतयारीमा ठूलो गृहकार्य आवश्यक पर्ने बताए ।

परियोजनाको राम्रो तयारीले परियोजनाको जीवनमा आउन सक्ने जोखिम कम गर्न सकिने धारणा राखे । स्पष्ट र पारदर्शी मानकका आधारमा परियोजनाहरूको छनौट, श्रेणीकरण र प्राथमिकीकरण गरी परियोजना बैंकमा समावेश गरिनेछ ।

परियोजनाको प्राविधिक, वित्तीय, सामाजिक तथा वातावरणीय दिगोपना लगायतलाई छनौटका आधार मानिएको छ । त्यस्तै, परियोजना पूर्वतयारीका आधारभूत पक्षहरू जग्गा अधिग्रहण वा राइट अफ वे क्लीयरेन्स, वित्तीय जोखिम, डिजाइन तथा निर्माण जोखिम, सञ्चालन एवं मर्मतसम्भार जोखिम र बजार तथा मागको जोखिमका आधारमा परियोजनाको मूल्यांकन र प्राथमिकीकरण गरिनेछ ।

कार्यक्रममा बोर्डका सहसचिव अमृत लम्सालले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट, फरेन कमनवेल्थ एन्ड डेभलपमेन्ट अफिसका सस्टेनेबल ग्रोथ टिम प्रमुख रिचर्ड क्रेग, विश्व बैंकका प्राइभेट सेक्टर एड्भाइजर पिटर मोज्ली लगायतले सम्बोधन गरेका थिए ।