Dhulikhel Eco Banner new

आयात प्रतिबन्धको प्रभाव : साउन महिनामा लक्ष्यको ८६ प्रतिशतमात्रै राजश्व संकलन

5.92K
shares

काठमाडौं, १ भदौ । सरकार साउन महिनामा लक्ष्य अनुसारको राजस्व संकलन गर्न असफल भएको छ । साउन महिनामा ८३ अर्ब ३९ करोड राजस्व संकल गर्ने लक्ष्य लिएको सरकारले ७२ अर्ब १९ करोड मात्रै राजस्व संकलन गर्न सकेको हो । जुन लक्ष्यको ८६.७७ प्रतिशत मात्रै हो ।

आन्तरिक राजस्व विभागले साउनमा लक्ष्यको ९१ प्रतिशत राजस्व संकलन गर्दा भन्सार विभागले भने लक्ष्यको ८१.०९ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । भन्सार विभागले २०७८ साउनमा विभागले ३९ अर्ब १९ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो तर २०७९ को साउन महिनामा ७ अर्ब रुपैयाँ कम ३२ अर्ब १९ करोड मात्रै राजस्व संकलन गरेको छ ।

आर्थिक वर्षको पहिलो महिना साउनमा विभागले ३९ अर्ब ६९ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ३२ अर्ब १९ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको विभागका सूचना अधिकारी पुण्य विक्रम खड्काले जानकारी दिए । सरकारले धेरै राजस्व संकलन हुने बस्तुमाथि लगाएको प्रतिबन्धका कारण राजस्व संकलन घटेको हुन सक्ने उनको भनाइ छ ।

‘सरकारले वैशाखदेखिनै धेरै राजस्व संकलन हुने सवारी साधन लगायत वस्तुमा प्रतिबन्ध लगाएको छ, यसको प्रभाव पनि हुन सक्छ र आर्थिक वर्षको पहिलो महिना भएका कारण पनि केही कम राजस्व संकलन भएको हुन सक्छ,’ उनले भने । यसरी हेर्दा सरकारल विभिन्न वस्तुका लगायको प्रतिबन्ध भदौ १४ गते पछि पनि कायमै राखेको खण्डमा राजश्व संकलन झन प्रभावित हुने देखिएको छ । अहिले सरकारले विदेशी मुद्रा सञ्चितिलाई ध्यानमा राखेर विभिन्न वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्ध भदौ १४ गतेसम्मका लागि रहेको छ ।

आन्तरिक राजस्व विभागले साउन महिनामा ४३ अर्ब ७० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा साउन मसान्त सम्म ४० अर्ब रुपैयाँ संकलन गरेको छ । साउनमा लक्ष्यअनुसार अन्तशुल्क संकलन नहुँदा विभागले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको हो ।