Dhulikhel Eco Banner new

राजश्व संकलन ७ प्रतिशतले घट्दा खर्च ८ प्रतिशतले बढ्यो

4.59K
shares

काठमाडौं, २४ असोज । सरकारले चालू आर्थिक वर्षको असोज २३ गतेसम्म लक्ष्यको १२ दशमलव २७ प्रतिशत मात्रै राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षमा सरकारले १४ खर्ब ३ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।

सरकारले असोज २३ गतेसम्म १ खर्ब ७२ अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ । यो अघिल्लो वर्षकोभन्दा ५७ अर्बले कम हो । गत वर्षको सोही अवधिमा सरकारले लक्ष्यको १९ दशमलव २८ प्रतिशत राजश्व संकलन गरेको थियो । सरकारले गत वर्ष २ खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो ।

लक्ष्य भन्दा निकै कम राजस्व संकलन भईरहेको अवस्थामा सरकारी खर्च भने उच्च दरमा बढेको छ । चालू आर्थिक वर्षको २ महिना २३ दिनमा सरकारी खर्च गत वर्षकोभन्दा ७.९६ प्रतिशतले वृद्धि भएको छ । चालू आर्थिक वर्षको ८३ दिनको अवधिमा सरकारको खर्च २ खर्ब ४४ अर्ब रुपैयाँ रहेको छ । गत वर्ष सोही अवधिमा सरकारको खर्च २ खर्ब २६ अर्ब रुपैयाँ रहेको थियो ।

गत आर्थिक वर्षको असोज २३ गतेसम्म राजस्व भन्दा १ अर्ब ४९ करोड रुपैयाँ कम खर्च भएको थियो भने चालू आर्थिक वर्षमा राज्यले संकलन गरेको राजस्व भन्दा ७२ अर्ब ९० करोड रुपैयाँ बढी खर्च भएको अर्थमन्त्रालयको तथ्यांकले देखाएको छ ।