Dhulikhel Eco Banner new

६ महिनामा रोजगारीमा गएका ६१२ जनाको मृत्यु

5.49K
shares

काठमाडौं, ९ चैत । वैदेशिक रोजगारीमा गएका ६१२ जनाले ज्यान गुमाएका छन् । वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ६१२ जना नेपालीले विदेशमा ज्यान गुमाएका हुन् ।

बोर्डको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म ६१२ जनाको शव नेपाल ल्याइएको छ । अंगभंग हुनेको संख्या भने ११४ जना रहेको छ । बोर्डको तथ्यांक अनुसार ६ महिनाको अवधिमा रोजगारीमा गएर मृत्यु हुनेमा खाडी मुलुक गएकाहरु धेरै रहेका छन् । यो अवधिमा सबैभन्दा बढी साउदी अरब गएकाहरुले ज्यान गुमाएका छन् । ६ महिनाको अवधिमा साउदीमा मात्रै १८५ जनाले ज्यान गुमाएका छन् ।

बोर्डको तथ्यांक अनुसार ६ महिनाको अवधिमा मलेसिया गएका १२३ जनाको ज्यान गएको छ । त्यस्तै कतारमा ११७, युएइमा १०४ जना, कुवेतमा ३० जना, बहराइनमा १२, दक्षिण कोरियामा ११ जना, रोमानियामा ४ जना, जोर्डन, टर्कीमा २÷२ जनाको ज्यान गएको छ । त्यस्तै सेसल्समा १ जनाको मृत्यु भएको छ ।

चालु आर्थिक वर्षको ६ महिनामा वैदेशिक रोजगारीका लागि गएका ११४ जना अङ्गभङ्ग भएर स्वदेश फर्किएका छन् । यो अवधिमा अंगभंग भएर स्वदेश फर्किनमा पनि सबैभन्दा बढी साउदी गएकाहरु छन् । साउदी अरेबियाबाट मात्रै ३८ जना अंगभंग भएर फर्किएका छन् । त्यस्तै युएईबाट २४ जना, कतारबाट २२ जना, मलेसियाबाट १६ जना र कुवेतबाट ५ जना अंगभंग भएर फर्किएका छन् ।

यस्तै रोमानियाबाट २ जना, कोरियाबाट २ जना, पपुवान्युगिनी, माल्टा, जापान, इजरायल र क्रोएसियाबाट एक एक जना अंगभंग भएर फर्किएका छन् ।