Dhulikhel Eco Banner new

२५ अर्बको ट्रेजरी बिल जारी गर्दै केन्द्रीय बैंक

3.82K
shares

काठमाडौं, १६ चैत । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता पठाउन सोझै ट्रेजरी बिल खरिद बोलकबोल (आउटराइट पर्चेज) गर्ने भएको छ । केन्द्रीय बैंकले २०८० असार मसान्तसम्म भुक्तानी अवधि भएका २५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल आउटराइट पर्चेजका लागि बोलकबोल आह्वान गरेको हो ।

केन्द्रीय बैंकले १६ चैत बिहीबार ३ बजेसम्म आवेदन दिन सकिने उक्त आउटराइट पर्चेजको १७ चैत शुक्रबार खरिद हुने जनाएको छ । बैंक तथा वित्तीय संस्थाले बिक्री गर्न चाहेको ट्रेजरी बिल ५ करोड वा ५ करोडले भाग लाग्ने खरिद गर्न चाहेको रकमसम्म बोलकबोल पेश गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षमा यसअघि पनि केन्द्रीय बैंकले आउटराइट पर्चेज मार्फत ८३ अर्ब ८५ करोड रुपैयाँ तरलता बैंकिङ प्रणालीमा पठाइसकेको छ । ९ भदौमा २५ अर्ब, ६ असोजमा ४० अर्ब, २४ कात्तिकमा ३० अर्ब र ८ मंसिरमा २० अर्ब रुपैयाँ बराबरबको ट्रेजरी बिल आउटराइट पर्चेज मार्फत खरिद गर्न प्रस्ताव आह्वान गरेको भएपनि उक्त ८३ अर्ब ८५ करोड रुपैयाँ मात्रैको खरिद गरेको थियो ।

ट्रेजरी बिल एक वर्षवा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।