GBIME

अर्थतन्त्रमा सुनचाँदी व्यवसायको योगदान

3.23K
shares

नेपालको अर्थतन्त्रमा सुनचाँदी व्यवसायले सकारात्मक प्रभाव परेको भए पनि त्यसलाई अर्थतन्त्रमा जोड्न नसक्नु निकै दुःखदे पक्ष हो । सुनचाँदी गहना मात्रै नभएर सम्पत्ति पनि भएकाले आर्थिक अवस्थामा सुनको उपस्थितिले निकै महत्वपूर्ण भूमिका खेलेको छ तर विडम्बनाको कुरा यो व्यवसायलाई कुल ग्राहस्थ उत्पादनमा जोडिएको छैन । वार्षिक रुपमा १०० अर्बको कारोबार हुने यो क्षेत्रलाई विलाशीताको साधानका रुपमा मात्रै हेरिएको छ ।

सरकारले नीति बनाएर सुनचाँदी व्यवसायलाई पनि अर्थतन्त्रमा जोड्नुपर्ने हुन्छ । आर्थिक कारोबार गर्ने भएकाले यसले ठूलो योगदान पुर्‍याएको छ । आवश्यक नीति बनाएर यसलाई जिडीपीमा समेट्नुपर्ने आवश्यकता छ ।

सुनचाँदी व्यवसायबाट रोजगारी सिर्जना हुनेदेखि राज्यको राजश्व प्रणालीमा पनि योगदान रहेको छ । मुख्य कुरा, यहाँ सरकारले काम गर्न सकेको छैन । आफ्नो व्यवसायीको प्रवद्र्धन तथा रोजगारी दिने काममा व्यवसायीहरुले काम गरिरहेका नै छन् । त्यसबाट अर्थतन्त्रमा पनि टेवा पुगेको नै छ । राजश्वको सिर्जना गर्ने काम भइरहेको छ ।

नेपालमा सुनचाँदी व्यवसायीको अवस्थाका विषयमा एउटा अनुसन्धान समेत भएको छ । नेपालको अर्थतन्त्रमा सुनचाँदी व्यवसायले अर्थतन्त्रमा कस्तो योगदान पुर्‍याउन सक्छ भन्ने विषयमा त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र विभागले अध्ययन गरेको छ । सुनचाँदी व्यवसायबाट करिब दुई लाख जनालाई प्रत्यक्ष रोजागरी सिर्जना भएको देखिएको छ । त्यस्तै १५ लाख जनताले यो पेशाबाट जीवनयापन गरिरहेको अवस्था छ । १०० अर्बको टनओभर हुँदा वार्षिक रुपमा राज्यलाई ११ अर्बको राजश्व संकलन हुने गरेको छ । यो कुरा जिडीपीमा समावेश नहुँदा र योगदानको मूल्यांकन नहुँदा आयातको कोटामा कटौती गरिएको अवस्था छ ।

यो व्यवसायलाई जिडीपीमा संलग्न गराउने र कोटा पनि बढाउने हो भने अझ धेरै योगदान दिन सक्छ । अर्कोतर्फ यसलाई विलाशीताको वस्तुमा राख्नु हुँदैन । यसले अहिले दुई लाखलाई रोजगारी दिएका छ । अझै प्रोत्साहन गरेको खण्डमा त्यो संख्या चार लाख हुन सक्छ । त्यस्तै वार्षिक रुपमा १०० अर्बको कारोबार हुने गरेको छ । यो बढेर २०० अर्ब पुग्न सक्छ । त्यस्तै अहिले राजश्व संकनल ११ अर्ब रहेको छ । यो पनि बढेर २२ अर्ब पुग्न सक्छ । यसका लागि राज्यले नीति बनाएर सुनचाँदी व्यवसायलाई प्रबद्र्धन गर्नु पर्ने हुन्छ ।

यत्रो संख्यामा रोजगारी सिर्जना गर्ने र राजश्व संकलनमा पनि टेवा पु¥याउने क्षेत्रलाई राज्यले पनि ध्यान दिनु पर्ने हुन्छ । अहिले १६ औँ योजनामा हाम्रो व्यवसायीलाई पनि जिडीपीमा समावेश गराउने विषयमा अहिले छलफल पनि भइरहेको छ ।

व्यापार घाटा कम गर्न पनि यो व्यवसायलाई प्रयोग गर्न सकिन्छ । यसका लागि नीति नियम बनाएर अघि बढ्नुपर्ने आवश्यकता छ । काम गर्ने वातावरण बनाउनुपर्ने हुन्छ । सरकार र व्यवसायीले छलफल गरेर नीति निर्माण गर्नुपर्ने आवश्यकता छ । तर राज्य उदासिन भएर बसेको अवस्था छ । अहिलेको मन्दीको अवस्था र अर्थतन्त्रको संकुचनको अवस्थामा सुधार ल्याउन सुचचाँदी व्यवसायले योगदान दिन सक्छ । यसका लागि राज्यले पनि उचित नीति नियम बनाउनुपर्ने खाँचो छ ।

हरेक नेपालीको घरमा धर्म संस्कृति अनुसार पनि धेरै वा थोरै सुन रहेको अवस्था छ । गरगहना धारण गर्नु भनेको नजानीदो तरिकाले परिवार, समाज र राष्ट्रलाई मतद गर्नु नै हो । अर्थतन्त्र सुधार र परिवारको अर्थतन्त्र सुधारको लागि पनि सुनचाँदीले योगदान दिइरहेको नै हुन्छ । २०६५ सालमा सुनको मूल्य १० हजार रुपैयाँ थियो ।

त्यो समयमा वार्षिक ४० अर्बको सुन आयात हुने गरेको थियो । १० हजार रुपैयाँ तोलाको हिसावले त्यो धैरै परिणाम हो । त्यो सबै सुन नेपालीहरुसँग रहेको छ । घरघरमा त्यो सुन रहेको छ । नेपालीहरुले सुनको गरगहना धारण गर्दै गर्दा कसरी अर्थतन्त्रमा योगदान पुग्यो भन्दा १० हजारको सुनको मूल्य बढेर १ लाख १० हजार पुग्दा त्यो नै उदाहरण भएन र ? उसको सम्पत्ति बढेको कुरालाई त कसैले पनि नकार्न सक्दैन । यसले परिवारको आर्थिक अवस्थामा पक्कै पनि सुधार गरेको छ ।

हामी समृद्धिको कुरा गछौँ । जब धनको कुरा हुन्छ, समृद्धिको कुरा हुन्छ । यसका विभिन्न सूचक हुन्छ । जस्तै सूचकहरुको अध्ययन गर्दा कति वटा घर छन्, कतिवटा घडेरी छ, कुनस्तरको मोटरसाइकल छ । त्यो पनि हेरिन्छ । त्यस्तै कुनै व्यक्तिसँग कति सुन छ भन्ने कुराले पनि समृद्धिको आधारलाई तय गरेको हुन्छ । सुनचाँदीलाई छाडेर समृद्धिको कल्पना गर्न सकिदैन । तसर्थ नेपालको अर्थतन्त्रको विकास र परिवारको विकास तथा आर्थिक विकासको सूचकमा जिडीपीको कुरा गर्नुपर्छ । यी सबैमा सुनचाँदीको योगदान ठूलै छ । अनुत्पादक क्षेत्र वा विलाशीताको वस्तु जे भने पनि यसबाट योगदान पुगेको कुरालाई कसैले पनि नकार्न सक्दैन । यसबाट आर्थिक क्षेत्रको विकास भएको छ ।

जुन कुराले आर्थिक विकास गर्छ त्यो उनुत्पादक कसरी हुन सक्छ ? विसं. २०६५ सालमा १० हजारको तोलामा हुँदा १ लाखमा किनेको सुनको मूल्य ११ लाख पुगिसकेको छ भने यो कसरी अनुत्पादक क्षेत्र हुन सक्छ ? हामीले खाद्यान्न, लत्ताकपडा लगायत क्षेत्रमा गरिएको खर्च प्रयोग गरेपछि सकिन्छ । मोबाइल, लत्ताकपडा, टिभी सेटहरु किनेर उपभोग गरेपछि शून्य बराबर हुन्छ या सेकेण्ड ह्याण्ड हुन्छ तर सुन भने अन्य उपभोग वस्तुको जस्तो हुन्न । नयाँ पुरानो जुनसुकै सुन भए पनि यो मूल्यमा कुनै पनि परिवर्तन हुँदैन । सुन भनेको सुनै हो ।

बीस वर्षभन्दा पुरानो सुन भए पनि त्यसको मूल्यांकन गर्दा अरु सामानसँग सुनचाँदीको तुलना नै हुँदैन । यो जुन फरक छ यसलाई आम उपभोक्तादेखि लिएर सरकारमा बस्नेहरुले बुझ्न जरुरी छ । यसलाई बुझ्न सकेको खण्डमा आर्थिक क्षेत्रमा योगदान पनि बढ्दै जान्छ । सुनचाँदीमा विदेशबाट आएर काम गरिरहेको अवस्था छ । यदि नेपालमा नै दक्ष जनशक्ति निर्माण गरेको खण्डमा रोजगारीका लागि विदेश जानुपर्ने बाध्यताको पनि अन्त्य हुन्छ । नेपालमा नै गरगहना बनाएर स्वदेशमा नै आफ्नै परिवासँग बसेर काम गर्न पाउने अवस्था सिर्जना हुन्छ । दैनिक रुपमा दुई हजार जना विदेश जानुपर्ने बाध्यतालाई पनि कम गर्न यसले मद्दत पुर्‍याउँछ । जसले गर्दा आर्थिक रुपमा आत्मनिर्भर हुने र सामाजिक विकृति रोक्न सहयोग मिल्थ्यो होला ।

काम गर्ने भनेको धन कमाउनका लागि नै हो । यदि आफ्नै देशमा धन कमाउने वातावरण निर्माण हुन्छ भने कोही व्यक्ति विदेश किन जान्थ्यो होला र ? धन कमाउनु नपर्ने भए काम पनि किन गर्नुपर्‍यो । धन कमाउन र आर्थिक विकास गर्न सुनचाँदी व्यवसाय ठूलो सम्भावना भएको क्षेत्र हो । तर यस विषयमा सरकारले आँखा चिम्लेको अवस्था छ । सुतेको सरकारलाई घच्घच्याउने काम हामीले गरिरहेका छौँ । यसमा सरकारले पनि केही मात्रामा सहजता बनाइदिएको खण्डमा यो व्यवसाय अझ विस्तार हुने थियो । नेपाली बजारमा खपत हुने अधिकांश सुन दुबइबाट आउँछ । त्यसबाहेक हङकङ, टर्की, अष्ट्रेलियालगायत देशबाट आउँछ । ९० प्रतिशत सुन भने दुबइबाट नै आउने गरेको छ ।

गहनाको निर्यातको अवस्था
नेपालमा बनेका गहनाहरु विदेशमा पनि निर्यात हुन्छन् । त्यो पनि विदेशमा रहेका नेपालीहरुले त्यहाँ आफ्नो संस्कृति अनुसार गर्ने कार्यक्रमका लागि सुनका गहगनाको माग हुने गरेको छ । सरकारी तथ्यांक अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म ५४ करोड रुपैयाँको गहना निर्यात भएको छ । तर नेपालीहरुले कार्यक्रम तथा समारोहमा मगाउने सुन यसमा समावेश गरिएको छैन । यो देखिने तथ्यांक भयो तर कुनै व्यक्तिले मगाएर अर्को व्यक्तिले लगिदिएको गहना यसमा समावेश नहुने भयो । विदेशमा भएका नेपालीहरुले नेपालबाट त्यहाँ जानेहरुलाई नेपाली गहना ल्याइदिनका लागि भन्छन् । जसले हाम्रो व्यवसाय पनि बढ्छ । सरकारको राजश्वमा पनि टेवा पुगेको छ । तर सरकारको तथ्यांकमा त्यो आउँदैन ।

नेपाली डिजाइनको सुनको माग हुने गरेको छ । उताबाट पैसा पठाइदिन्छ, अनि त्यो व्यक्ति व्यवसायीकोमा गएर सुन खरिद गर्छ । गहना संकलन गरेर पठाइन्छ । तर यसलाई निर्यातमा जोडिदैन् । तर सुन खरिद बिक्री हुँदाको राजश्व सरकारलाई गएको छ । रोजगारीमा टेवा पुगेको छ । अर्थतन्त्रलाई चलायमान बनाउनका लागि पनि यसले योगदान दियो ।

पछिल्लो सयम नेपालीको क्रयशक्तिमा कमी आएको छ । नेपालीहरु सुन किन्न सक्ने अवस्थामा नै छैनन् । अहिले हाम्रा व्यवसायीहरुले पुरानो गहनासँग नयाँ गहना साट्ने काम मात्रै गरिरहेका छन् । विदेशमा गएका नेपालीहरुले सुनको माग गर्दा व्यवसायीलाई पनि निकै राहत पुगेको छ । बनेको गहनालाई हामीले डलरमा बिक्री गरेको होइन । सिधा डलरको आम्दानी भने भएन् । तर व्यवसायभने भयो । कुनै अष्ट्रेलियामा बस्ने नेपालीले नेपाबाट गहना झिकाउँदा त्यहाँ कमाएको रकम नेपाल त भित्रिन्छ । यसरी आएको रकमले नेपालको अर्थतन्त्रको विकासमा टेवा पुर्‍याउँदै न र ? सरकारको राजश्व वृद्धि गराउँदैन र ? अर्थतन्त्र चलायमान बनाउँदैन र ?

नेपालमा निर्माण हुने गहनामध्ये करिब ३० देखि ३५ प्रतिशतसम्म विदेश गइरहेको छ । नेपालीको आर्थिक अवस्था बढेको छैन । नेपालीले गहना किनेर लगाउन सक्ने अवस्था नै छैन । सुनको मूल्य बढेका कारणले त्यसलाई धान्न सक्ने आर्थिक अवस्था नेपालीहरुको छैन् । विदेशमा बस्ने नेपालीहरुको आम्दानी राम्रो रहेको छ । उनीहरुको बचत पनि हुन्छ । विदेशमा रहँदा आफ्नो देशको माया बढी लाग्ने भएर पनि होला उहाँहरुले नेपाली गहनाको माग गर्नु हुन्छ ।

यसलाई बढाउन सरकारले पनि ध्यान दिनु पर्ने हुन्छ । यसलाई नियन्त्रण गर्ने की प्रबद्र्धन गर्ने भन्ने विषयमा राज्यले ध्यान दिन जरुरी देखिन्छ । यसरी विदेशमा गहना जाँदा सुनचाँदी व्यवसाय लागेकाहरुले रोजगारी पाउँछन् । राज्यलाई राजश्व पनि प्राप्त हुन्छ । यसलाई बढाउने वा ताला लगाएर नियन्त्रण गर्ने त्यो विषयमा राज्यले सोच्नु पर्ने आवश्यकता रहेको छ ।

सुनको मूल्य जहिले पनि महँगै

सुनचाँदीको मूल्य हामी नेपालीका लागि कहिले पनि सस्तो भएन । जहिले पनि महँगो नै भयो । आजभन्दा २० वर्ष पहिले सुनको मूल्य तोलामा आठ हजार रुपैयाँ मात्रै थियो । त्यो समयमा पनि सुनको मूल्य महँगो नै थियो । त्यसपछि सुनको मूल्य बढेर १० हजार प्रतितोला पुग्दा पनि मानिसहरुले महँगो नै भयो भनेर भनिरहेका थिए । त्यो समयमा पनि सस्तो थिएन । । विस्तारै सुनको मूल्य १५ हजार, २० हजार, ३० हजार, ४० हजार, ५० हजार पुग्यो । त्यतिबेला पनि सुनको मूल्य महँगो नै मानिन्थ्यो । अहिले एक लाखभन्दा माथि पुग्दा पनि सुनको मूल्य महँगो नै छ । १० हजार हुँदा पनि महंगो नै थियो भने अहिले बढेर १ लाख १० हजार हुँदा पनि सुनको मूल्य महँगो नै छ । फेरि बढेर दुई लाख ३ लाख पुग्दा पनि यो महँगो नै हुन्छ ।

नेपालीको आम्दानीको अनुपातमा सुनको मूल्य ज्यादै धेरै मात्रामा बढेको छ । नेपालीको क्रयशक्तिको तुलनामा सुनको मूल्य धेरै बढेकाले जहिले पनि महँगो नै हुन्छ । तोलाको आठ हजार हुँदा पनि नेपालीको क्रयशक्तिको अनुपात उही थियो अहिले बढेर १ लाख १० हजार पुग्दा पनि क्रयशक्ति उस्तै उस्तै छ । यस्तो अवस्थामा सुन महँगो लाग्नु पनि स्वभाविक नै हो ।

अर्कोतर्फ आवश्यकताको कुरा पनि हो । विवाह गर्नु छ वा कुनै विशेष कामका लागि गहना बनाउनुपर्ने छ भने जतिसुकै मूल्य भए पनि व्यक्तिले सुन किन्छ । प्रतितोला १० हजार भए पनि १ लाख भए पनि आवश्यकता भएपछि मानिसले किन्छ । तर आवश्यकता छैन भने सुनको मूल्य १० हजार होस्, ५० हजार होस्, एक लाख १० हजार होस्, मानिसले किन्दैन ।

मुद्राको क्रयशक्ति घट्दै गएको संकेतका रुपमा सुनको भाउलाई लिन सकिन्छ । एक तोला सुनका किन्नका लागि १० हजार रुपैयाँ मूल्य हुँदा मुद्राको क्रयशक्ति सोही अनुसार थियो । तर अहिले बढेर एक लाख १० हजार रुपैयाँ खर्च गर्नुपर्छ भन्नुको अर्थ हाम्रो मुद्राको क्रयशक्ति कति कम भयो भन्ने कुराको इन्डिकेटर हो । अनि सोही अनुपातमा हाम्रो आम्दानी बढ्यो कि बढेन ? अन्य उपभोग्य वस्तुको मूल्य बढ्यो कि बढेन ? भन्ने कुरा अर्थशास्त्रको छुट्टै अध्ययनको विषय हो । सुनको मात्रै कुरा गर्दा मुद्रास्फितीलाई प्रतिबिम्बित गर्छ ।

विदेशमा लगानीकर्ताहरुले आफ्नो लगानीको केही प्रतिशत सुनमा लगानी गर्छन् । तर नेपालमा भने सुनलाई लगानीको क्षेत्रका रुपमा हेरिएको नै छैन । यो मानेमा विश्वमा भएको प्रचलन नेपालमा आएको नै छैन । नेपालमा सुनचाँदी किन्ने भनेको लगानी क्षेत्रभन्दा पनि यसलाई अनुत्पादक क्षेत्रका रुपमा ब्याख्या गरिएको छ । विलाशिताको वस्तुका रुपमा हेरेर यसलाई नियन्त्रण गर्ने तिर मात्रै ध्यान गइरहेको छ । जुन गलत छ ।

मूल्यमा अभिवृद्धि हुने सुनबाहेक अरु कुनै पनि वस्तु छैन । यो अर्थतन्त्रको चलायमान तत्वभित्रै पर्छ । त्यसैले नेपालमा सुनचाँदीलाई हेर्ने नजरमा परिवर्तन गर्नुपर्ने आवश्यकता छ । नीति निर्माताले सुनचाँदीको दृश्य देखेका छैनन् । त्यो तस्बीरलाई देखाउनुपर्छ । यसमा समृद्धि र आर्थिक विकास जोडिएको छ । त्यो चित्र नीति निर्मातालाई देखाउनुपर्ने छ । हामी समृद्धिको यात्रामा अघि बढ्ने हो भने सुनचाँदी व्यवसायलाई पनि प्रोत्साहन गर्नुपर्ने आवश्यकता छ ।
(शाक्य नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष हुन् ।)