Dhulikhel Eco Banner new

लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित

4.56K
shares

काठमाडौैं, २१ असार । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८०÷८१ को बजेट बहुमतले पारित भएको छ । बुुधबार बसेको प्रदेशसभाको बैठकले लुम्बिनी  प्रदेशको आगामी आर्थिक वर्षको बजेट पास गरेको हो ।

अर्थमन्त्री धनबहादुर मास्कीले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रदेशसभाको बैठकमा प्रस्तुत गरेका थिए । आगामी आवका लागि प्रदेशसभामा सरकारका तर्फबाट अर्थमन्त्री मास्कीले यही असार १ गतेका लागि रु ४० अर्ब ४७ करोड ८९ लाख ९७ हजार बराबरको बजेट प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव ध्वनि मतको आधारमा बहुमतले पारित भएको सभामुख तुलाराम घर्तीले घोषणा गरेका छन् ।

सरकारले ल्याएको बजेटमा असहमति जनाउँदै प्रमुख प्रतिपक्ष दल एमालेले विरोध गर्दै आइरहेको थियो । यही कारण चार पटकसम्म सदन बैठक अवरुद्ध हुन पुगेको थियो । मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र प्रमुख विपक्षीबीच मङ्गलबार भएको वार्तापछि प्रदेशसभाको बुधवारको बैठक सञ्चालन भएको थियो ।

सरकारले यही असार १ गते ल्याएको बजेट चालुतर्फ रु १३ अर्ब ६३ करोड ३० लाख ९९ हजार र पुँजीगततर्फ रु २३ अर्ब २५ करोड ६९ लाख एक हजार रहेको छ । त्यस्तै, वित्तीय हस्तान्तरणतर्फ रु तीन अर्ब ५८ करोड ९७ लाख छ । चालुतर्फ ३३ दशमलव ६८ प्रतिशत, पुँजीगततर्फ ५७ दशमलव ४५ प्रतिशत र वित्तीय हस्तान्तरणतर्फ आठ दशमलव ८७ प्रतिशत रहेको छ ।

आगामी आवमा आन्तरिक राजस्वबाट रु छ अर्ब ७३ करोड ५१ लाख, सङ्घबाट प्राप्त हुने राजस्व बाँडफाँटबाट रु ११ अर्ब ३१ करोड ७४ लाख, सङ्घबाट प्राप्त हुने रोयल्टी रु २९ करोड, स्थानीय तहबाट बाँडफाँट भई प्राप्त हुने राजस्व रु दुई अर्ब ५० करोड ३० लाख हुने अनुमान गरिएको छ ।

त्यस्तै, सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट रु आठ अर्ब १४ करोड ८३ लाख, ससर्त अनुदानबाट रु पाँच अर्ब ८३ करोड ५९ लाख, समपूरक अनुदानबाट रु ८४ करोड, विशेष अनुदानबाट रु ५६ करोड, चालु आवको नगद मौज्दातबाट रु तीन अर्ब र आन्तरिक ऋणबाट रु एक अर्ब २५ करोड परिचालन हुने अनुमान छ । चालु आव  २०७९÷८० मा रु ४२ अर्ब ६३ करोड ५७ लाखको बजेट आएको थियो ।