सहकारी संकटको चेन इफेक्ट बैंकमा, नियमित ऋण तिर्नेहरु पनि भाग्न थाले
वि.सं.२०८० असार २२ शुक्रवार १३:१९
shares

काठमाडौं, २१ असार । पछिल्लो समय सहकारीले आफ्नो बचतकर्ताको बचत फिर्ता गर्न नसक्ने अवस्था सिर्जना भएको छ । अहिले अन्तराष्ट्रिय रुपमा देखा परेको आर्थिक मन्दीको कारण बैंक वित्तीय क्षेत्र र सहकारी क्षेत्रमा ठुलो समस्या सिर्जना भएको हो ।
हिजोआज त सहकारीले बचत फिर्ता नगरेको भन्दै सहकारीमा डुबेको पैसा फिर्ता गराउँन विभिन्न संस्थाहरुले सरकारलाई दवाब दिँदै आइरहेका छन् भने धेरै संख्यामा सहकारी पिडित काठमाडौं माइतीघर मण्डलामा धर्ना दिइरहेका छन् ।
पछिल्लो समय गाउँका सहकारीमा भन्दा सहरकेन्द्रित सहकारीमा बढि समस्या सिर्जना भएको विज्ञहरु बताउँछन् । सहकारीले आफ्नो उद्धेश्य नै भुलेर अन्य काममा लाग्दा यो समस्या निम्तिएको विज्ञहरु बुझाइ छ ।
भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मी सहकारीमा बचतकर्ताको पैसा डुब्नुमा बचतकर्ताकै गल्ती रहेको बताउछन् । बचतकर्ता ब्याजको लोभमा फस्दा अहिले यतिका समस्या सिर्जना भएको उनको भनाइ छ । उनले सहकारी सहकारीमा सीमित नरहेर अन्य क्षेत्रमा काम गरेको हुँदा पनि समस्या सिर्जना भएको बताए ।
सहकारी संकटमा पर्दा बैंकलाई के असर गर्छ ?
सहकारी समानान्तर ढंगबाट चल्ने संस्था हो । सहकारी सञ्चालनलाई विभिन्न बैंकहरुले ऋण प्रदान गरिरहेका हुन्छन् । करिब एक डेढवर्ष पहिले बचतकर्ता बैंकमा भन्दा सहकारीमा बचत गर्न रुचाउथे । घरमै बचत संकलन गर्न आउँने र ब्याज बढि आउँने हुँदा बचतकर्ताको सहकारीमा आकर्षण बढ्दो थियो ।
सहकारी सञ्चालकले विभिन्न प्रयोजनको लागि भनि बैंकबाट ऋण लिँदै जग्गा जमिन घरमा लगानी लगाउने गरेको पाइएको छ । पछिल्लो समय आर्थिक मन्दीको कारणले गर्दा जग्गा किनबेचमा समस्या हुन बितिकै त्यसको प्रत्यक्ष असर बैंकमा परेको हो ।
सहकारीका सञ्चालकले ठुलो क्षेत्रमा लगानी गर्ने हुँदा यो समयमा सहकारीमा व्यापक समस्या देआ परेको अर्थविद् डा. डिल्लीराज खनाल बताउँछन् । उनले सहकारी समस्यामा पर्दा बैंकलाई प्रभाव पर्नु स्वभाविक रहेको बताएका छन् ।
सहकारी सञ्चालकले लगानी लगाउँने क्षेत्रमा असर परेपछि त्यसको सिधै असर बैंकमा पर्ने उनको भनाइ छ । ‘पैसा कहाँबाट आयो कुन सहकारीले कति पैसा कहाँ लगानी गरेको छ भनेर सहकारी विभागले रेकर्ड नराख्दा पनि यो समस्या देखिएको हो ।’ उनले भने, ‘जुन किसिमले सहकारी संस्थाहरु सञ्चालन गरिएको थियो त्यसको ठिक विपरीत मात्रै नाफाको लागि जुन क्षेत्रमा पनि आफ्नो किसिमले लगानी गर्दा समस्या सिर्जना भएको छ ।’
सहकारी मेनेजरको अनुगमन नगर्ने हो भने यो समस्या निम्तिरहने उनको भनाइ छ । हाल सहकारी सञ्चालकले बचतकर्ताको बचत दुरुपयोग गरेको हुँदा यस्तो समस्या सिर्जना भएको समेत उनको भनाइ छ ।
सहकारी संस्थाहरु समस्यामा पर्दा यसको स्वभाविक चेन इफेक्ट बैंकलाई परेको छ । एक बैंकका सीईओका अनुसार अहिले उनको बैंकमा नियमित साँवा ब्याज भुक्तानी गर्नेहरु पनि भाग्न थालेका छन् । यसको प्रमुख मध्येको एक कारण सहकारी संकट भएको उनी बताउछन् । ‘थोरै रकम पनि बचत लिने र ब्याजदर पनि महंगो हुने भएकाले धेरैले ऋण चाहिँ बैंकबाट लिने र आफ्नो बचत चाहिँ सहकारीमा राख्ने गर्छन’ उनले भने, ‘सहकारीमा राखेको बचत फिर्ता नहुँदा अहिले नियमित ऋण तिर्नेहरुले समेत नतिरी भाग्न थालेका छन्, कतिपयले ऋण चुक्ता गर्ने होइन नविकरण गर्न हारगुहार गर्ने गरेका छन् ।’
कृषि विकास बैंकका पुर्व सिइओ अनिल उपाध्यायले सहकारी र बैंकबिचको इको सिस्टम ब्रेक भएकै कारण समस्या सिर्जना भएको बताएका छन् । ‘हालको सहकारीको कारोबारको कारण बैंकहरुलाई रिपेमेन्ट, निक्षेपको कारोबारमा असर पारेको छ’, उनले भने,‘ सहकारी संस्थाले निक्षेपकर्ताको भुक्तानी दिन नसक्ने अवस्था र आर्थिक गतिविधि कमजोर भएकाले सहकारी प्रति बचतकर्ता आक्रोश भएका छन् ।’
सहकारीले ठुलाठुला क्षेत्रमा लगानी गर्दा पनि सरोकारवाला निकायले नियमन नगर्दा पनि यति ठुलो समस्या सिर्जना भएको उनको भनाई छ ।



















