Dhulikhel Eco Banner new

अर्थतन्त्रमा समस्या रहेको स्वीकार गरेर निकास खोजौँः अध्यक्ष ढकाल

4.19K
shares

काठमाडौँ, २८ चैतः नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्र अझै समस्यामुक्त नभएकाले समस्यालाई स्वीकार गरेर नै समाधान खोज्नुपर्ने बताएका छन ।

महासङ्घको ५८औँ वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै मुलुकको अर्थतन्त्र यसअघिको नियन्त्रणमुखी नीति तथा कार्यक्रमका कारण समयानुकुल विकास हुन नसकी समस्यामा पर्दै गएको बताए ।

पहिला देशको अर्थतन्त्रमा अझै समस्या छ भन्ने स्वीकार गरेपछि मात्र यसको समाधानको खोजी सहज हुने उहाँको भनाइ थियो । उनले भने, “अहिले आम्दानी र खर्चबीच तालमेल मिलेको छैन । मुलुकको खर्च धान्ने निजी क्षेत्र पखेटा फिँजाएर थप आर्जन गर्न खोजिरहेको छ, तर राज्यका तर्फबाट त्यसका लागि आवश्यक सेवा र सुरक्षा पाउन सकेको छैन । यो क्षेत्रले अहिले सरकारबाट प्रोत्साहन चाहेको छ । अहिलेको अवस्थामा निजी क्षेत्रलाई काम गर्ने वातावरण र अर्थतन्त्र सुधारका लागि राज्यका प्रभावकारी नीति आवश्यक छ ।”

केही समयअघि नेपाल पनि श्रीलङ्काको जस्तो अर्थतन्त्रमा पुग्छ भन्ने त्रासले निकै नै नियन्त्रणमुखी कार्यक्रमहरु नेपाल सरकार तथा केन्द्रीय बैंकले अवलम्बन गरेका कारण अर्थतन्त्र यसरी सङ्कुचन हुन पुगेको र अर्थतन्त्र सुधारका लागि दिगो कार्यक्रम अवलम्बन गर्न नसकिएको उनको भनाइ थियो ।
करिब दुई वर्षदेखि सुस्ताएको अर्थतन्त्रको रोग पहिचान गरेर त्यसको निदानका लागि मुलुकका सबै निजीक्षेत्रका तर्फबाट साझा सुझाव दिएको र ती सुझावहरु राज्यका सम्बद्ध निकायले लागू नगर्दा समस्या झन् बल्झिँदै गएको उनले बताए ।

अध्यक्ष ढकालले भने, “अहिलेको अवस्थामा मुलुकको अर्थतन्त्र सुधारका लागि राजनीतिक तहबाट त्यसलाई अपनत्व ग्रहण गरिदिनुप¥यो । कानुनी अड्चन हुन गएका अवस्थामा त्यसलाई सहजीकरण गरिदिनुपर्यो र वातावरणीय रुपमा दिगो कार्यक्रमहरु अवलम्बन गर्नुपर्यो ।”

उनले वित्तीय व्यवस्थापन खर्च पुँजीगत खर्चभन्दा झण्डै दोब्बर भएको अहिलेको अवस्थामा आन्तरिक स्रोत बढाउन सक्नुपर्ने र यसो गर्न नसकिएमा नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदै जाने क्रममा ऋणको भार थप बढ्ने सम्भावना देखिएको औँल्याएका छन ।

निजी क्षेत्रले निर्वाध रुपमा लगानी गरेर काम गर्न पाएको अवस्थामा मात्र पछिल्लो दुई वर्षमा देखिँदै गएको न्यून आर्थिक वृद्धिको समस्या हल हुने उनको निष्कर्ष थियो ।